कांग्रेसका नौ केन्द्रीय सदस्यलाई कोरोना संक्रमण

शनिबार, २२ कार्तिक, २०७७
डिजिटल संस्करण

नेपाली कांग्रेसका थप नौजना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय कार्यसमितिको बैठकको सम्मुखमा गरिएको परीक्षणमा नौजना केन्द्रीय सदस्यलाई संक्रमण पुष्टि भएको हो । 

केन्द्रीय कार्यालयमा बिहीबार भएको परीक्षणमा केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, किरण यादव, सुजाता परियार, कृष्णकिशोर घिमिरे, श्याम घिमिरे र मोहम्मद सिद्धिकीलाई कोरोना पजिटिभ देखिएको पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।

त्यसअघि केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू, शिव हुमागाईं र फर्मुल्लाह मन्सुरलाई संक्रमण पुष्टि भएको थियो । केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएपछि बिहीबार कांग्रेस पार्टी कार्यालयमा ८२ जनाले कोरोना परीक्षण गराएका थिए । 

संक्रमित नेताहरूको स्वास्थ्य अवस्था भने सामान्य छ । यसअघि कोरोना संक्रमणकै कारण केन्द्रीय सदस्य मीन विश्वकर्माको स्वास्थ्य अवस्था गम्भीर भएको थियो । हाल कोरोना नेगेटिभ देखिए पनि उनी उपचाररत छन् ।

यसअघि १८ असोजमा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापासहितलाई कोरोना संक्रमण भएपछि १९ असोजको केन्द्रीय कार्यसमिति बैठक नै स्थगित भएको थियो । कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, नेताहरू अर्जुननरसिंह केसी, गगन थापा, डिना संग्रौला, जीवनबहादुर शाही, अजय चौरसिया, रमेश रिजाललगायतले कोरोना जितिसकेका छन् । शुक्रबार बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टीभित्रको विवादका कारण सोमबारका लागि स्थगित भएको छ । 
 

सुझावित समाचार