जावलाखेलमा चारवटा पार्क बनाउँदै ललितपुर महानगर

बुधबार, १९ कार्तिक, २०७७
डिजिटल संस्करण

ललितपुुर महानगरको जवलाखेल क्षेत्रमा एकैसाथ चारवटा पार्क बन्ने भएका छन् । जवलाखेलको स्टिल टावरनजिकै रहेका यी पार्क ललितपुर महानगरको नगरस्तरीय गौरवशाली आयोजनाअन्तर्गत बन्न लागेका हुन् । 

यी पार्क महानगरको वडा नं ४, ५ र १३ मा पर्छन् । चिल्ड्रेन पार्क, मिडल पार्क, पिस पार्क र गणेशमान सिंह पार्क नाम दिइएका यी पार्कहरू कुल २६ आना ३ पैसा जग्गामा निर्माण हुनेछन् । यी पार्कको कुल लागत ७८ लाख ४८ हजार रहेको महानगरपालिकाले जनाएको छ । पार्कको शिलान्यास गर्दै मेयर चिरिबाबु महर्जनले हरियाली र पानीजन्य परियोजनालाई महानगरले प्राथमिकतामा राखेको बताए ।

‘सहरभित्र पार्क निर्माण गर्दा सहरको सौन्दर्य बढ्छ, खुला स्थानको संरक्षण गर्न पार्क निर्माणलाई महत्व दिएका छौँ,’ उनले भने । महानगरले खुला ठाउँमा कुनै पनि भवन निर्माण गर्न नदिने नीति लिएको छ ।

अहिले नै खुला ठाउँको संरक्षण नगर्ने हो भने नयाँ पुस्तालाई अन्याय हुने मेयर महर्जन बताउँछन् । ‘म सानो छँदा लगनखेलमा फुटबल खेल्न जान्थेँ, त्यहाँ सबैतिर पोखरी थियो, त्यहीँ पौडी खेल्न सिकेको हो, हाम्रो पुस्ताले जुन प्रकृतिमा रमाइलो गरेको थियो, त्यस्तो रमाइलो हाम्रा छोराछोरी र नातिनातिनाले गर्न पाएका छैनन्,’ मेयर महर्जनले सुनाए । 

अब पनि संरक्षणमा नजुट्ने हो भने नयाँ पुस्ताले हामीलाई धिक्कार्ने उनको भनाइ छ । महानगरपालिकाले लगनखेल, कुमारीपाटीको प्रसादी एकेडेमीनजिकै पार्क निर्माणको तयारी गरिरहेको छ । महानगरपालिकाका वरिष्ठ इन्जिनियर रामरतन शाहले पार्क बालमैत्री र अपांगतामैत्री हुने बताए । 

सुझावित समाचार