उद्घाटन गरेकै अर्को दिन लघु जलविद्युत् आयोजनामा तोडफोड

बुधबार, १९ कार्तिक, २०७७
डिजिटल संस्करण

हुम्लाको खार्पुनाथ गाउँपालिका–३ रायाँगाउँस्थित घट्टेखोला लघु जलविद्युत् आयोजनामा तोडफोड गरिएको छ । आयोजना उद्घाटनको भोलिपल्टै अज्ञात समूहले तोडफोड गरेको छ । 

रायाँ र कारांगा गाउँका दुई सय ४० परिवारका लागि लघु जलविद्युत् आयोजना निर्माण गरिएको थियो । ०६१ मा सुरु भएको आयोजना ०७०÷७१ मा सम्पन्न गर्ने लक्ष्य रहेको थियो । तर, लामो समय अलपत्र परेको आयोजना केही वर्षयता निर्माणले गति लिएको थियो । १७ वर्षपछि निर्माण सम्पन्न भएको आयोजनाको १४ कात्तिकमा पूर्वमन्त्री एवं कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता जीवनबहादुर शाहीले उद्घाटन गरेका थिए । तर, उद्घाटन गरेको भोलिपल्ट नै विद्युत्गृहमा तोडफोड गरिएको गाउँपालिका अध्यक्ष कर्ण रावलले बताए । 

पुरानो समितिले काम नगरेपछि नयाँ समिति बनाएको थियो । बिजुली बलेपछि पुरानो समितिकै अगुवाइमा तोडफोड भएको अध्यक्ष रावलको आरोप छ । ‘गाउँमा केही स्थानीयले बत्ती बाल्ने पक्षमा थिए, केही विपक्षमा थिए,’ उनले नयाँ पत्रिकासँग भने, ‘पुरानो निर्माण समितिका कोषाध्यक्ष बलवीर रावललगायतको समूहले तोडफोड गरेको छ ।’ उनका अनुसार विद्युत्गृहको झ्याल र तारसमेत चुँडालिएका छन् । 

लामो समयपछि बत्ती बल्दा खुसी भएका रायाँवासी फेरि निराश भएका छन् । एक दिन बत्ती बलेर झिलिमिली रहेको रायाँ गाउँ तोडफोडपछि फेरि पुरानै अवस्थामा पुगेको छ । ‘गाउँमा बत्ती बल्दा खुसी भएका थियौँ, तर तोडफोड भएपछि बत्ती बल्न छोडेको छ,’ स्थानीय पूर्णबहादुर रोकायले भने । 

आयोजना निर्माणका लागि वैकल्पिक ऊर्जा पवद्र्धन केन्द्रले ६० लाख, स्नोल्यान्ड एकीकृत विकास केन्द्रले २९ लाख, तत्कालीन रायाँ गाविसले २४ लाख, खार्पुनाथ गाउँपालिकाले १२ लाख ४७ हजार, मौरी वन उपभोक्ता समितिले एक लाख र कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीले संसदीय क्षेत्र विकास कोषबाट ९० लाखबराबर उपलब्ध गराएकोे गाउँपालिका अध्यक्ष रावलले बताए । त्यस्तै, वडा कार्यालयबाट १० लाख विनियोजन गरेको भए पनि १२ लाख ४७ हजार पुरानो समितिले भुक्तानी लिएको अध्यक्ष रावलले बताए । 

सुझावित समाचार