काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्ति र पीडाबिच मनाइँदै गरेको यस वर्षको विजयादशमीमा दुःखमा परेका परिवारसँग चाडपर्वको खुसी बाँड्न सबैलाई आह्वान गरेका छन्।
विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै सभापति थापाले यस वर्षको दसैँ कठिन परिस्थितिबिच मनाउनुपरेको बताएका छन्।
उनले विपत्तिका कारण धेरै परिवार दुःख, पीडा र कठिनाइमा रहेकाले चाडपर्वको खुसी आफ्नै घरपरिवारमा मात्र सीमित राख्न नहुनेमा जोड दिएका छन्। दुःखमा परेका परिवारलाई सहयोग गर्दै उनीहरूको पीडामा साथ दिनुपर्ने उनको भनाइ छ।
शुभकामना सन्देशमा थापाले भनेका छन्, ‘यस्तो वेला हाम्रो चाडपर्वको खुसी केवल आफ्नो घरआँगनमा मात्र सीमित नरहोस्। दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ, आफ्नो खुसी बाँड्न सकौँ र एक–अर्काको सहारा बन्न सकौँ।’
सभापति थापाले विजयादशमीले व्यक्तिलाई आफ्ना कमजोरीमाथि विजय प्राप्त गर्ने आत्मबल प्रदान गर्नुका साथै अरूको पीडा बुझ्ने संवेदना र समाजमा एकता तथा सद्भाव कायम गर्ने भावना बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
उनले चाडपर्वको वास्तविक खुसी आपसी सहयोग, सहकार्य र मानवीय संवेदनामा निहित हुने उल्लेख गर्दै कठिन परिस्थितिमा रहेका नागरिकलाई साथ दिनुपर्ने सन्देश दिएका छन्।
विजयादशमीका अवसरमा सभापति थापाले सम्पूर्ण नेपालीको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।