अविश्वसनीय चुनावी सर्वेक्षण

मंगलबार, १८ कार्तिक, २०७७
डिजिटल संस्करण

काममा निस्कनुअघि आकाश कालो देखियो भने तपाईं के गर्नुहुन्छ ? पक्कै पनि मौसमविद्ले दिनभरका लागि गरेको भविष्यवाणी रिपोर्ट हेर्नुहुन्छ । मौसमविद्ले निकाल्ने रिपोर्टले पानी पर्ने सम्भावना ८० प्रतिशत बतायो भने हामी छाता लिएर हिड्छौँ । दिनको मौसमको अन्योल मौसम भविष्यवाणीबाट निवारण गरेजस्तै अमेरिकामा मंगलबार हुने मतदान सम्बन्धमा विभिन्न अड्कलबाजीमाझ मानिसहरू तथ्यांकशास्त्रीका निर्वाचन मोडेल हेर्न थालेका छन् ।

यदि मतसर्वेक्षणले आफ्नो उम्मेदवारले जित्ने सम्भावना ८० प्रतिशत बतायो भने हामीलाई राहत महसुस हुन्छ । तर, सन् २०१६ को निर्वाचनमा डोनाल्ड ट्रम्पको अप्रत्याशित विजयपछि सर्वेक्षणका मोडेलप्रतिको विश्वास गुमेको छ । सन् २०१६ पछि चुनावी भविष्यवाणीलाई गम्भीरतापूर्वक लिने कुरामा प्रश्न उठ्न थालेको छ । यस्ता भविष्यवाणीलाई बेवास्ता गर्नुपर्ने बलिया तर्क छन् । आखिर यी भविष्यवाणीका लागि प्रयोग गरिने मतसर्वेक्षण मोडेल कति वैज्ञानिक हुन्छन् ? 

अमेरिकी राष्ट्रपति देशभरबाट धेरै मत ल्याएर विजयी हुँदैन । प्रत्येक राज्यबाट निर्वाचित इलेक्टोरल कलेजले तिनलाई चुन्छन् । यस अर्थमा समग्र देशको मतसर्वेक्षणले अमेरिकी मतदातालाई आवश्यक सूचना दिँदैन । पछिल्ला पाँच अमेरिकी राष्ट्रपतीय निर्वाचनमध्ये दुई निर्वाचन (सन् २००० र सन् २०१६) मा उम्मेदवारले देशभर धेरै मत पाएर पनि इलेक्टोरल कलेजमा हारेका छन् ।

कुनै परिघटनालाई अनुमान गर्ने दुई बृहत्तर तरिका छन्– पहिलो घटनालाई प्रभावित बनाउन सक्ने कारकको विश्लेषण गर्ने र अर्को मतसर्वेक्षणजस्ता मापनको प्रयोग गर्ने । निर्वाचनलाई प्रभावित बनाउने कारकमा ऐतिहासिक पाठ महत्वपूर्ण हुन्छ । जस्तो, अर्थतन्त्र बलियो हुँदा सत्तासीन राजनीतिज्ञको जित्ने सम्भावना बलियो भएको देखिएको छ । मतसर्वेक्षणको परिणामलाई ठ्याक्कै अनुमान गर्न सक्ने कुनै बलियो सिद्धान्त हुँदैन । चुनावी भविष्यवाणी गर्ने संस्थाले विभिन्न तथ्यांक प्रयोग गरेर यथार्थको नक्कल (सिमुलेसन) निर्माण गर्छन् । 

चुनावी मतसर्वेक्षण मात्र होइन, अर्थतन्त्र तथा राष्ट्रिय अवस्थाका अन्य पहेलुबारे गरिने मतसर्वेक्षणमा सिमुलेसन प्रयोगमा ल्याइन्छ । उदाहरणका लागि विभिन्न सूचना संकलन गरेर हजार अलग सिमुलेसन निर्माण गरिए र तिनमध्ये आठ सयवटामा बाइडेनले २७० इलेक्टोरल भोट पाए भने बाइडेनको चुनाव जित्ने सम्भावना ८० प्रतिशत हुन्छ । अब यही बिन्दुमा मौसम भविष्यवाणी र चुनावी भविष्यवाणीमा भिन्नता देखिन थाल्छ ।

मौसमको पूर्वानुमानका लागि मुख्यतः कारक तत्वको विश्लेषण प्रयोग गरिन्छ । अर्थात्, उन्नत विज्ञानको विकासमार्फत हामीले वायुमण्डलले कसरी काम गर्छ भन्ने धेरै जानकारी हासिल गरिसकेका छौँ, जसबाट सटिक भविष्यवाणी गर्न सकिन्छ । तर, निर्वाचन सम्बन्धमा हामीसँग यस्तो ज्ञान तथा सामथ्र्य छैन । मतदातालाई के कुराले प्रभावित बनाउँछ भन्ने कुरामा केही सिद्धान्त भए पनि मानिसले किन निश्चित तरिकाले मतदान गर्छन् भन्नेबारेमा सटिक ज्ञान उपलब्ध छैन ।

एक अध्ययनअनुसार चुनावी पूर्वानुमानले ‘मतपरिणामको सुनिश्चितता बढ्ने, धेरैलाई अन्योल बढाउने र चुनावको दिन मतदाताको संख्या घटाउने’ देखाएको छ । यही कारणले कतै क्लिन्टनका धेरै मतदाता तिनको मतविनै क्लिन्टनले जित्नेमा ढुक्क भएर घरमै त बसेनन् ? यसबारे अब कहिल्यै थाहा हुनेछैन ।

फाइभथर्टीएट नामक संस्थाले सन् २०१६ को अन्तिम भविष्यवाणीमा हिलारी क्लिन्टनले जित्ने सम्भावना ७१.४ प्रतिशत रहेको बताएको थियो । यो अंकको अर्थ हो, तीनमध्ये एक अवस्थामा क्लिन्टनले हार्न सक्छिन् । तर, ठूला अंकमा ख्याल गरेका धेरै मानिसले यतातर्फ ध्यान दिएनन् । अन्य साइटले क्लिन्टनले जित्ने सम्भावना थप बलियो रहेको देखाएका थिए । जस्तो, न्युयोर्क टाइम्सले चुनावको दिन क्लिन्टनले जित्ने सम्भावना ८५ प्रतिशत रहेको अनुमान गरेको थियो । सन् २०१६ यता फाइभथर्टीएटजस्ता साइटले आफ्नो प्रस्तुतिमा सुधार गरेका छन् र पाठकलाई अप्रत्याशित जितको सम्भावनाका लागि तयार हुन बताउन थालेका छन् । 

चुनावी मतसर्वेक्षणले अनुमान गर्ने काम गर्छ । मतसर्वेक्षणले सम्पूर्ण सम्भावना एकातर्फ देखाइरहँदा मानिसहरू ‘जे पनि हुन सक्छ’ भन्ने सोच्दैनन् । सन् २०१६ को मतसर्वेक्षणहरूको एक प्रमुख समस्या के थियो भने मतसर्वेक्षण गर्नेहरूले सहभागीहरूले कुन दललाई मतदान गर्ने त बुझे, तर ती चुनावमा आउँछन् वा आउँदैनन् भन्नेमा त्यति ध्यान दिएनन् । मतसर्वेक्षणले अनुमान गरेभन्दा बढी ट्रम्पका समर्थक मतदानमा सहभागी भए भने पछि मन बनाउने सोचेकाले पनि ट्रम्पलाई मत हाले । यति सानो कुराले पनि अन्तिम मतपरिणाममा भिन्नता ल्याउँछ । 

विगतका चुनावमा भन्दा यसपटकको चुनावी मतपरिणाममा विश्वास गर्न कठिन छ । मोबाइल फोन, सहभागीको सोचलाई प्रभावित बनाउने गरी डिजाइन गरिएका मतसर्वेक्षण तथा अविश्वासको युगमा कोरोना भाइरस झन् नयाँ समस्या बनेर आएको छ । महामारीको जोखिममा रहेका वृद्धहरूले यसपटक मतदान वहिष्कार गर्लान् ? मतदाताको दमन होला ? कतै रिपब्लिकन मतदाता चुनावको अन्तिम दिन ठूलो संख्यामा मतदान गर्न त आउनेछैनन् ? यी ठूला अज्ञात विषयले मतसर्वेक्षणमा ठूलो प्रभाव पार्नेछ । इलेक्टोरल कलेज प्रणालीमा एक प्रतिशतको एकचौथाइ अन्तरले सम्पूर्ण इलेक्टोरल मत विजयीको पोल्टामा पार्न सक्छ ।

 एक अध्ययनअनुसार चुनावी पूर्वानुमानले ‘मतपरिणामको सुनिश्चितता बढ्ने, धेरैलाई अन्योल बढाउने र चुनावको दिन मतदाताको संख्या घटाउने’ देखाएको छ । यही कारणले कतै क्लिन्टनका धेरै मतदाता तिनको मतविनै क्लिन्टनले जित्नेमा ढुक्क भएर घरमै त बसेनन् ? यसबारे अब कहिल्यै थाहा हुनेछैन । मतसर्वेक्षणपछि मिडियाले तिनकै आधारमा सनसनी खोज रिपोर्टिङ गर्ने चलन बढेको छ ।

यसले मिडिया रिपोर्टिङ कुनै घोडाको दौडको रिपोर्टिङमा रूपान्तरण हुन थालेको छ । तर, वास्तवमा चुनावी भविष्यवाणीको अनिश्चिततामाझ कुनै उम्मेदवारले जित्ने सम्भावना २० प्रतिशत छ भन्नु र ४० प्रतिशत भन्नुमा कुनै फरक छैन । अर्को भाषामा भन्दा यी भविष्यवाणी त्यति उपयोगी छैनन् र मानिसले यसलाई गम्भीर रूपमा लिए भने यो खतरनाक पनि हुन सक्छ । मतदाताले पनि यी भविष्यवाणी अपडेट गर्नुभन्दा मतपरिणामलाई साँच्चै असर गर्ने काम गर्नुपर्छ । त्यो भनेको मत हाल्ने, बाँकी सबैमा चुक हुने सम्भावना हुन्छ । 

जेनेप टुफेक्सी युनिभर्सिटी अफ नर्थ क्यारोलिनाकी एसोसिएट प्रोफेसर हुन् । 

"via The New York Times"

नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

सुझावित समाचार