चीनले आफ्नो बाटो आफैँ तय गर्नुपर्छ

मंगलबार, १८ कार्तिक, २०७७
डिजिटल संस्करण

अमेरिकाले चीनप्रति गर्ने व्यवहारमा एउटा बटम लाइन हुनैपर्छ र त्यो बटम लाइनलाई आकार चिनियाँ आफैँले दिनुपर्छ

अमेरिकी राष्ट्रपतीय निर्वाचन मंगलबार हुँदै छ । सबै कुरा सामान्य रहे बुधबारसम्म निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भइसक्नेछ । तर, यसपटक नतिजा तुरुन्त नआउने वा हार्ने पक्षले नतिजा अस्विकार्ने हुन् कि भन्ने आशंका पनि छ । यसले यो निर्वाचनमा गत्यावरोधको भय बढाएको छ । अमेरिकाबाहिरका मानिसमा पनि यो निर्वाचनप्रति बढी नै कुतूहल छ । तर, यो निर्वाचनको नतिजा तिनको हितका हिसाबले उतिसारो प्रासंगिक छैन । अमेरिकी नागरिकका लागि यो निर्वाचन एक रोमाञ्चक परिघटना हुन सक्छ किनकि तिनका आ–आफ्नै दाउ छन् । अरूले त मनोरञ्जनका लागि अमेरिकी चुनावलाई नियालिरहेका हुन् ।

अधिकांश चिनियाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चारवर्षे कार्यकालले अमेरिका–चीन सम्बन्धमा निकै ठूलो प्रभाव पारेको ठान्छन् । तर, अहिले अमेरिकाको चीनप्रतिको नयाँ नीतिले रणनीतिक आकार लिएको छ र अब चीन–अमेरिका सम्बन्ध लामो समयका लागि गतिरोधमा प्रवेश गर्दै छ । यी मुलुकको सम्बन्ध थप बिग्रिने ठाउँ अब बाँकी छैन, सम्बन्धमा न्यानोपन आउने पनि देखिँदैन । चीन–अमेरिका सम्बन्धका लागि अमेरिकाको यो निर्वाचन महत्वपूर्ण हुने मान्नु अपरिपक्वता मात्रै हो । चिनियाँ नागरिकले ट्रम्पलाई एउटा उपनाम दिएका छन्– ‘चुआन जियांगिओ’ जसको शाब्दिक अर्थ चीनको निर्माण ट्रम्पले गरिदिनेछन् भन्ने हुन्छ । हुन पनि अमेरिकाले चीनप्रतिको नीतिमा जुन कठोरता अपनाएको छ, त्यसले चीनलाई समृद्धिको मार्गमा बाध्य बनाएर घचेटिरहेको छ । 

यदि अमेरिकी दमन हुन्थेन भने चिनियाँ नागरिकले अमेरिकी सेमिकन्डक्टरकै आधारमा आफ्ना उद्योगधन्दा निर्माण गरिरहेका हुन्थे र वासिंटनको छेडखानी तथा नीतिगत पलटवारको सुनामीबाट प्रताडित हुन तयार भएर बसेका हुने थिए । संकटलाई आँक्ने हाम्रो क्षमता लामो समयका लागि निष्क्रिय हुने थियो । यसर्थ, चिनियाँ जनताले राखेको ट्रम्पको उपनामले संकटलाई अवसरमा बदल्ने हाम्रो क्षमतालाई प्रतिबिम्बित गरेको छ ।

चिनियाँ नागरिकले ट्रम्पलाई एउटा उपनाम दिएका छन्– ‘चुआन जियांगिओ’ जसको शाब्दिक अर्थ चीनको निर्माण ट्रम्पले गरिदिनेछन् भन्ने हुन्छ । हुन पनि अमेरिकाले चीनप्रतिको नीतिमा जुन कठोरता अपनाएको छ, त्यसले चीनलाई समृद्धिको मार्गमा बाध्य बनाएर घचेटिरहेको छ ।

गत चार वर्षमा अमेरिकाको चीनप्रतिको नीतिले चीनलाई एकपटक फेरि ब्युँत्याइदियो । यसले हामीलाई महत्वपूर्ण प्रविधिहरूमा हामी बाधित हुन सक्छौँ, आफ्नो प्रविधिगत कमजोरीलाई पूरा गर्नैपर्छ भन्ने पनि बुझाइदिएको छ । यसले हामीलाई अमेरिका चीनको उदयलाई स्विकार्दैन र चीनलाई दबाउन यसले हरसम्भव यत्न गर्नेछ भन्ने पनि सम्झाइदिएको छ । यसर्थ, यो जोखिम होइन, बरु एउटा तितो सत्य हो ।

यदि चीन प्रमुख शक्तिका रूपमा आफ्नो कायाकल्प देख्न चाहन्छ भने उसले अमेरिकाको रणनीतिक धम्की र उन्मादबाट पार पाउनैपर्छ । चीनको आज्ञाकारिता तथा सहनशीलताबाट मात्रै चीन र अमेरिकाबीच शान्तिपूर्ण सहअस्तित्व हासिल हुन सक्दैन । त्यसैले हामी अजेय शक्ति हुनैपर्छ, त्यसो हुँदा अमेरिकाले अन्ततः चीनसँग नियमसंगत ढंगले शान्तिपूर्ण प्रतिस्पर्धालाई स्विकार्नेछ । अर्थात्, दुई मुलुकबीचको सौम्य सहकार्य तथा सहयोग अमेरिकाले चीनसँग शान्तिपूर्ण सहअस्तित्वका लागि हात बढाए मात्रै स्थापित हुन सक्छ । र, यो नै उपयुक्त अथवा भनौँ कम खराब विकल्प हो ।

चिनियाँ नागरिकले अब अगाडि के गर्नुपर्छ, त्यो प्रस्टै छ । उनीहरू अडिग रहनुपर्छ, पूरै मुलुकलाई परिचालित गर्नुपर्छ र मुलुकमा विद्यमान उच्च प्रविधिगत कमीलाई एकएक गरेर पूरा गर्दै जानुपर्छ । चिनियाँ नागरिकले मुलुकलाई आधारभूत अनुसन्धानबाट उच्च–प्रविधियुक्त एप्लिकेसन्सको अग्रणी स्थानमा लैजानुपर्छ र सुरक्षित एवं भरपर्दाे आपूर्ति शृंखला स्थापित गर्नुपर्छ । चीनले घडीले जस्तै एकपछि अर्काे कदम अगाडि बढाउँदै जानुपर्छ, रोकिनु हुँदैन । यो निकै ठूलो कार्यभार छ, जुन आर्थिक तथा समाजिक सुधारका शृंखलाबाट मात्रै पूरा हुन सक्छ । यसका लागि चिनियाँ समाज एकताबद्ध र दृढनिश्चयी भएर मात्रै पनि पुग्दैन, गतिशीलता र जीवन्तता पनि हासिल गर्नुपर्छ । त्यसले विभिन्न खाले नवप्रवर्तनका लागि चीनलाई सक्षम बनाउनेछ । अहिलेसम्म हामीले लचकता र एकताबीचको विरोधाभास समाधान गरेका छैनौँ । भावी अप्ठ्यारा यहीँनेर छन्, हामीले कडा मिहिनेत गर्नुपर्ने यही हो ।

चीनको सैन्य निर्माण तत्कालै जरुरी छ । तटवर्ती जलक्षेत्रमा सैन्य संरचना खडा गर्नुका अलवा प्रभावकारी डिफेन्सको सिद्धान्तमा आधारित रहेर हामीले हाम्रो रणनीतिक डिटरेन्सलाई आणविक क्षमताबाट बलियो पार्दै लानुपर्छ । हामीले चीनसँग शत्रुवत् होइन, मित्रवत् व्यवहार गर्दा मात्रै अमेरिकाको हित हुन्छ भन्ने महसुस गराउनु पर्छ ।

समग्रमा चीनका लागि अमेरिकी निर्वाचन महत्वपूर्ण छैन । अमेरिकाले अकस्मात वा तत्कालै आफ्ना विचार बदल्छ भन्ने चिनियाँ जनताले नसोच्दा हुन्छ । अमेरिकाले चीनप्रति गर्ने व्यवहारमा एउटा बटम लाइन हुनैपर्छ र त्यो बटम लाइनलाई आकार चिनियाँ आफैँले दिनुपर्छ । 

ग्लोबल टाइम्सको सम्पादकीय
 

सुझावित समाचार