अन्नको भण्डारमा मलको हाहाकार

हिउँदे बालीका लागि पनि मल पाएनन् धनगढीका किसानले

सोमबार, १७ कार्तिक, २०७७
डिजिटल संस्करण

कैलालीको भजनी नगरपालिका लालबोझीका किसान सन्तराम चौधरीले गहुँ छर्नका लागि दसैँअघि नै खेत खनजोत गरेर तयार पारेका छन् । तर, रासायनिक मल नपाउँदा गहुँ छर्न सकेका छैनन् । गाउँ र आसपासका सहकारीहरूमा दैनिक धाइरहेका उनले एक बोरा पनि मल पाएका छैनन् । 

दुई बिघा आफ्नो र बाँकी ठेक्कामा गरी ११ बिघामा खेती गर्दै आएका उनले बर्खे सिजनमा पनि मलको यस्तै अभाव भोगेका थिए । गाउँको सहकारीमा मल नपाएपछि लम्की, टीकापुर तथा टीकापुरपारि पर्ने बर्दियाको राजापुरमा समेत मल खोज्दै पुगे पनि नपाएको गुनासो उनले गरे । 

मल नभएर गहुँ छर्न नपाउँदा खेत सुक्न थालेको उनको गुनासो छ । चौधरी भन्छन्,    ‘मलका लागि दैनिकजसो डुलिरहेको छु, तर कहीँ पनि पाइएन । मल नहालौँ भने पनि उब्जनी हुँदैन ।’ ११ बिघामा गहुँ छर्न तत्काल कम्तीमा २० बोरा डिएपी चाहिने उनको भनाइ छ ।  

गौरीगंगा नगरपालिकाको मसुरियाका किसान टेकबहादुर बस्नेतले पनि रासायनिक मल नपाउँदा गहुँ छर्न सकेका छैनन् । १२ कट्ठा जमिनमा मल नहालेरै तोरी छरेको उनले बताए । बस्नेतले भने, ‘मल नपाएकाले खेत पनि जोतेको छैन । अहिले जोतेर पनि मल कहिले पाइने हो ? त्यतिन्जेल माटो सुकिहाल्छ ।’ गाउँमा कहिलेकाहीँ आउने सहकारी मल पनि पहुँच हुनेहरूले लाने गरेको बस्नेतले बताए । 

बस्नेत भन्छन्, ‘धानबाली लगाउने वेला पनि मल हाल्न नपाउँदा पोहोरको जस्तो यसपालि उत्पादन भएन । गहुँ पनि मल नहालेरै छर्नुपर्छ कि भन्ने पिर छ ।’ सीमावर्ती क्षेत्रका किसानले पहिले भारतबाट मल ल्याउने गरेका थिए । तर, अहिले नाका बन्द रहेका कारण भारतबाट मल ल्याउन सहज छैन । केही किसानले भने यहाँ मल नपाएपछि लुकिछिपी भारतबाट ल्याएका छन् । 

सीमावर्ती क्षेत्र लालबोझीका किसान ऋषिकेश चौधरीले भारतबाट तस्करी गरेर ल्याउन नसक्नेले मलविनै गहुँ छर्नुपर्ने अवस्था रहेको बताए । उनी भन्छन्, ‘गाउँमा धेरै किसान मल नपाएर हैरान छन् । छिटपुट रूपमा भारतबाट पनि तस्करी भइरहेको छ । गाउँको सहकारीमा मल आउँदैन । आएका वेला पनि एक घरलाई एक बोराका हिसाबले दिइन्छ । १०–१२ बिघामा खेती गर्नेलाई एक बोरा मल हात्तीको मुखमा जिराजस्तै हो ।’

बर्खे सिजनमा पनि मलको चरम अभाव खेपेका यहाँका किसानले हिउँदे बाली लगाउने वेला पनि मल पाएका छैनन् । रासायनिक मलविनै खेती लगाउनुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ । गहुँ छर्ने वेला डिएपी मल आवश्यक पर्छ, तर सरकारी अनुदानको मल बिक्री गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीमा डिएपी मलको मौज्दात छैन । 

सरकारी तथ्यांकअनुसार अन्न भण्डारका रूपमा रहेको कैलालीमा हिउँदे बालीका लागि करिब ५ हजार मेट्रिकटन डिएपी र १० हजार मेट्रिकटन युरिया तथा ५ सय मेट्रिकटन पोटास मल आवश्यक पर्छ । डिएपी गहुँ छर्ने वेला र युरिया बिरुवा हुर्कने वेला हाल्ने गरिन्छ । तर, असारयता साढे ७ सय मेट्रिकटन डिएपी मात्रै बिक्री गरिएको कृषि कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले बताए । युरिया मल भने कृषि सामग्रीले असारदेखि नै बिक्री गरेको छैन । डिएपी मल आउने क्रममा रहेकाले कात्तिक २०–२२ गतेबाट सहकारीलाई बिक्री गरिने प्रमुख बोगटीले जानकारी दिए । 

अनुदानको मल बिक्री गर्ने अर्को निकाय साल्ट ट्रेडिङले हिउँदे सिजनका लागि कैलालीमा १ हजार ३ सय २४ मेट्रिकटन युरिया, २ सय ६४ मेट्रिकटन डिएपी र १ हजार ८ सय मेट्रिकटन सिंगल सुपर फस्फेट (एसएसपी) मल बिक्री गरेको जनाएको छ । डिएपीको काम गर्ने एसएसपी गैरअनुदानको मल हो । साल्ट ट्रेडिङमा अहिले युरिया र डिएपी मलको मौज्दात सकिएको छ । 

See More On

सुझावित समाचार