जर्मनीमा कोरोना संक्रमित पाँच लाख नाघे

शनिबार, १५ कार्तिक, २०७७
डिजिटल संस्करण

जर्मनीमा कोरोना भाइरस संक्रमितको संख्या पाँच लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार कोभिड संक्रमितको संख्या पाँच लाख १८ हजार सात सय ५३ पुगेको छ । 

साथै स्वास्थ्य अधिकारीहरूले २४ घन्टायता कम्तीमा पनि १९ हजार संक्रमित थपिएको जनाएका छन् । जर्मनीमा कोरोना संक्रमण सुरु भएदेखिको यो नै सबैभन्दा ठूलो संख्या भएको उनीहरूले बताएका छन् । जर्मनीमा  कोभिड भाइरसको दोस्रो लहर आएको छ । त्यसैले पनि पछिल्लो समयमा यहाँ संक्रमितहरू बढिरहेका छन् । कोभिड भाइरसको प्रकोपबाट यहाँ मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । २४ घन्टायता संक्रमणबाट कम्तीमा पनि एक सय तीनजनाको ज्यान गएको छ । योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार चार सय ५२ पुगेका छन् ।

जर्मनीमा पछिल्लो समय कोरोना भाइरस प्रकोप बढेपछि कतिपय क्षेत्रमा कडा खालका प्रतिबन्ध लगाइएको समाचार आइरहेका छन् । भाइरसको प्रकोप बढ्दै गएकोले अझै कडा खालका लकडाउनका कार्यक्रम घोषणा गर्नेबारे पनि परामर्श भइरहेको जनाइएको छ । 

सुझावित समाचार