बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ८५ हजार सात सय २९ पुगेको छ ।
बिहीबार साँझसम्म देशभर एक लाख ६४ हजार सात सय १८ पुग्दा बागमतीमा मात्र कुल संक्रमितको ५२ दशमलव ५ प्रतिशत अर्थात् ८५ हजार सात सय २९ पुगेको हो ।
संक्रमितको संख्यासँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि बागमतीमा बढिरहेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म बागमतीका चार सय ३३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
बागमतीका कुल संक्रमितमध्ये हालसम्म ७१ दशमलव ७ अर्थात् ६१ हजार चार सय ९३ निको भइसकेको र २७ दशमलव ८ अर्थात् २३ हजार आठ सय तीनजना उपचाररत रहेको मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख पुरुषोत्तमराज सेढाईंले जानकारी दिए ।
बागमतीको १३ जिल्लामध्ये काठमाडौंका सबैभन्दा धेरै ५९ हजार दुई सय २९ संक्रमण पुष्टि भएको छ । मन्त्रालयको तथ्यांकअनुसार ललितपुरका आठ हजार तीन सय ९९, भक्तपुरका पाँच हजार चार सय ९५, चितवनका चार हजार पाँच सय ३५, मकवानपुरका तीन हजार एक सय ५६ जना छन् ।
यस्तै काभ्रेपलाञ्चोकका एक हजार पाँच सय ५७, धादिङका एक हजार एक सय ४१, नुवाकोटका ६ सय एक, सिन्धुपाल्चोकका पाँच सय २४, सिन्धुलीका तीन सय ७०, रामेछापका तीन सय ४६, दोलखाका दुई सय ८७ र रसुवाका ८९ जनामा संक्रमण पुष्टि भएको छ ।
हाल प्रदेशभर दुई सय ६८ संस्थागत क्वारेन्टिनमा, एक हजार दुई सय ८५ होम क्वारेन्टिनमा, तीन हजार ६ सय ३३ संस्थागत आइसोलेसनमा र १७ हजार सात सय १८ जना होम आइसोलेसनमा बसिरहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म हेटौँडास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा ३० हजार चार सय आठजनाको स्वाब परीक्षण गरिएको छ ।