एनएमएका महासचिव युआइएएको व्यवस्थापन समितिमा

बिहिबार, १३ कार्तिक, २०७७
डिजिटल संस्करण
एनएमएका महासचिव युआइएएको व्यवस्थापन समितिमा

कुलबहादुर गुरुङ

नेपाल पर्वतारोहण संघ (एनएमए)का महासचिव कुलबहादुर गुरुङ इन्टरनेसनल क्लाइम्बिङ एन्ड माउन्टेनियरिङ फेडेरेसन (युआइएए)को म्यानेजमेन्ट कमिटीको सदस्यमा निर्वाचित भएका छन् । उनको कार्यकाल चार वर्षको हुनेछ ।

शनिबार राति भएको युआइएएको भर्चुअल साधारणसभामा एनएमएको तर्फबाट गुरुङ निर्वाचित भएका हुन् । युआइएए पर्वतारोहण क्षेत्रका संस्थाको अन्तर्राष्ट्रिय महासंघ हो । पर्वतारोहण र पर्वतीय समुदायको विकासमा यसले काम गर्दै आएको छ ।

यसअघि एनएमएकै पूर्वअध्यक्ष जिम्बा जाङ्बु शेर्पा सन् २०१६ मा युआइएएको म्यानेजमेन्ट कमिटीको सदस्यमा निर्वाचित भएका थिए । युआइएएको सचिवालयमा निर्वाचित हुने गुरुङ दोस्रो नेपाली हुन् । युआइएएको मानार्थ सदस्यको रूपमा आङछिरिङ शेर्पा र माउन्टेन प्रोटेक्सन कमिसनमा डा. गणेश गुरुङ सदस्य छन् ।

महासचिव गुरुङले युआइएएको सचिवालय सदस्यमा निर्वाचित हुनु नेपाली पर्वतीय पर्यटनका लागि महत्वपूर्ण अवसरको रूपमा लिएको बताए । उनले पर्वतीय पर्यटनको विश्व मञ्चमा नेपाल र नेपालको पर्यटनलाई थप महत्वपूर्ण स्थान दिलाउन आफूले भूमिका खेल्ने बताए । ‘यो एनएमएले पाएको अवसर मात्र होइन, नेपाल सरकार र नेपालको पर्वतीय पर्यटनले पाएको अवसरको रूपमा लिनुपर्छ,’ उनले भने, ‘नेपाली पर्वतीय पर्यटनलाई विश्व मञ्चमा थप उजागर गर्ने, नेपालमा धेरैभन्दा धेरै आरोहीहरू आकर्षित गर्ने र नेपालको पर्वतीय समुदायको विकास र संरक्षण हुने गरी काम गर्नेछु ।’

गुरुङले आरोही गाइड तथा सहयोगीहरूको सामाजिक सुरक्षा, पर्वतीय समुदायको विकास र उनीहरूको संस्कृतिको संरक्षण तथा जलवायु परिवर्तनको सम्बोधनलगायतका क्षेत्रमा युआइएएले भूमिका खेल्न सक्ने बताए ।

सुझावित समाचार