बाढीपहिरोपीडित सहयोगको आसमा तड्पिरहँदा प्राधिकरण भने कार्यविधि निर्माणमा

बुधबार, ५ कार्तिक, २०७७
डिजिटल संस्करण

देशका विभिन्न जिल्लामा बाढी तथा पहिरोबाट पीडितहरू लामो समयदेखि सहयोगको प्रतीक्षा तथा सुरक्षित वासस्थानको खोजीमा रहेका वेला जोखिम राष्ट्रिय जोखिम विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण भने कार्यविधि निर्माणमा जुटेको छ । 

बाढीपहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापन स्थानीय तहसँगको समन्वयनमा गरिने भन्दै प्राधिकरण कार्यविधि निर्माण जुटेको जनाएको हो । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. अनिल पोखरेलले स्थानीय तहको नेतृत्वमा लाभग्राही पहिचान गर्ने र सुरक्षित स्थानमा स्थानान्तरण गर्नेगरी कार्यविधि तयार पारिएको बताए । 

कार्यविधिअनुसार विपत् व्यवस्थापनको काम सम्बन्धित स्थानीय तहले नै गर्नेछन् भने प्राधिकरणले आवश्यक समन्वय गर्ने उनले बताए । 

स्थानीय सरकारलाई सहयोग गर्न जिल्ला विपत् व्यवस्थापन समिति, प्रदेश सरकार र संघीय सरकारका सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गर्ने काम प्राधिकरणले गर्ने पोखरेलले बताए । 

पुनर्स्थापनपछि जीविकोपार्जनका लागि विभिन्न संघसंस्था र निजी क्षेत्रसँग सम्न्वय गरी विभिन्न कार्यक्रमहरू लागू गरिने पनि उनको भनाइ छ । 

यस्तै बाढीपहिरोबाट हुने क्षतिको वित्तीय व्यवस्थापनको दीर्घकालीन समाधान खोज्ने काम पनि प्राधिकरणले गर्नेछ । 
प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार जोखिमका लागि वित्तीय लगानीको अवधारणाअनुसार घर तथा सम्पत्तिको बिमा  गर्नेलगायतका औजारको प्रयोग गरिनेछ ।

सिन्धुपाल्चोक, बाग्लुङ, म्याग्दी, जाजरकोट, छामलगायतका जिल्लामा बाढी पहिरोबाट भएको क्षति र तिनका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने काम सुरु भइसकेको दाबी उनले गरे । 

प्राधिकरणको कार्यकारी समितिले तयार पारेको कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भएसँगै विपत् व्यवस्थापनका अन्य कार्यक्रमहरूलाई अगाडि बढाउने पनि पोखरेलले बताए । 

यस्तै प्राधिकरणले बाढी, पहिरो, आगलागी, भूकम्पलगायतबाट हुने विपत्को व्यवस्थापनका लागि बृहत् कार्यविधि तयार गरी काम गर्न लागेको पनि उनले दाबी गरे ।

सुझावित समाचार