संकटमा पर्यावरण मुद्दा

बुधबार, २८ असोज, २०७७
डिजिटल संस्करण

संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् ०६० सम्म चीनलाई ‘कार्बन न्युट्रल’ बनाउने वाचा गरे । विश्वको सबैभन्दा ठूलो कार्बनडाइअक्साइड ग्यास उत्सर्जनकर्ता देशबाट भएको यो घोषणा अप्रत्यासित थियो । यस सम्बन्धमा अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिक्रिया सकारात्मक रहेन ।

ट्रम्पले एक अवसरमा भने, ‘चीनको ठूलो स्तरको प्रदूषणलाई बेवास्ता गरेर अमेरिकाको असाधारण पर्यावरण प्रगतिमाथि आक्रमण गर्नेहरू पर्यावरणप्रति रुचि नभएका मान्छे हुन् । उनीहरू अमेरिकालाई दण्डित गर्न चाहन्छन् र मबाट यो सह्य हुँदैन ।’ ट्रम्पको उद्धरण एकपक्षीय त देखिन्छ, तर पूर्णतः गलत भने होइन । प्रदूषण नियन्त्रणका लागि नवीकरणीय ऊर्जामा ठूलो लगानी गर्ने वाचाका बाबजुद सीका पछिल्ला नीतिले प्रदूषण नियन्त्रणमा उलेख्य प्रगति गरेको तथ्यांकले देखाउँदैन । 

स्टिल निर्माणमा चीन सन् २०१४ मा उच्च बिन्दुमा पुग्यो र दुई वर्ष उत्पादन घटेपछि सन् २०१७ पछि स्टिल उत्पादन बढ्न थाल्यो । कोइला उत्पादन र उपभोगको अवस्था पनि उस्तै छ । ‘सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयर’को पत्रअनुसार चीनले अहिले अमेरिकामा प्रयोगमा रहेको कोइलाका सबै संयन्त्र बराबर नै संरचना निर्माण गरिरहेको छ ।

चीनले कोरोना भाइरसको प्रकोपमाझ पनि यो वर्षको आधा समयसम्म सन् २०१८ र सन् २०१९ मा भन्दा बढी कोइलासम्बन्धी संयन्त्रलाई अनुमति दिएको छ । संयुक्त राष्ट्र संघमा सीले गरेको पछिल्लो वातावरणीय वाचा पूरा गर्ने हो भने चीनले वृद्धिको मोडललाई बदल्नुपर्छ । उसले भारी उद्योगमाथिको हालको निर्भरता कम गरेर कोइलाको अत्यधिक प्रयोगलाई घटाउनुपर्छ । 

तर वासिंटन चीनको पर्यावरणीय रेकर्डमाथि प्रश्न गर्ने स्थानमा भने छैन । ट्रम्प सत्तामा आउनुपूर्व अमेरिकाले पर्यावरण संरक्षणका लागि पर्याप्त कदम चालेको थिएन । तर, ट्रम्पले अमेरिकालाई सन् २०१५ को पेरिस जलवायु सम्झौताबाट बाहिर निकालेपछि वासिंटनको विश्वसनीयता झनै खस्किएको छ । ट्रम्पले देशभित्रका पर्यावरणीय कानुन खारेज गर्दै कोइला उद्योगलाई पुनः गति दिने, तेल तथा ग्यास उत्खननमाथिका नियमन खुकुलो बनाउने वाचा गरेका छन् । यसले स्वच्छ ऊर्जासम्बन्धी योजनामा क्षति पुर्याइरहेको छ । 

अमेरिका र चीनबीच बढ्दो तनावमाझ दुई देशबीच अधिकांश आधिकारिक द्विपक्षीय संयन्त्र निष्क्रियप्रायः छन् । विगतमा चीन र अमेरिकाको अर्थतन्त्र एकअर्कामाथि निर्भर थियो । व्यापार युद्धपछि उत्पन्न परिस्थितिमा चीनले आफ्नो अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जोड दिन थालेको छ । यसले भावी दिनमा चीनमाथिको अमेरिकी दबाब थप कमजोर हुनेछ । तर, चीनको पर्यावरणमा पर्ने असरले अमेरिकालाई समेत असर गर्नेछ । एसियाको वायु प्रदूषणले अमेरिकाको केही हिस्सामा ६५ प्रतिशतसम्म ओजोन तह बढाएको देखिन्छ । 

सन् २००६ मा चीनबाट संकलित वायु प्रदूषणसम्बन्धी तथ्यांकहरूको अध्ययनबाट प्रशान्त महासागरमाथि बलियो हावा बहँदा चीनको निर्यात उद्योगले उत्सर्जन गर्ने प्रदूषण अमेरिकामा पुग्ने देखिएको थियो । यसको प्रभावले अमेरिकाको पश्चिमी भूभागमा ४ देखि ६ प्रतिशतसम्म कार्बन मोनोअक्साइड बढाएको देखिएको थियो । ११ प्रतिशत ब्ल्याक कार्बन प्रदूषण र १२ देखि २४ प्रतिशत सल्फेटमा पनि यसैको योगदान देखियो ।

विगतमा चीन र अमेरिकाको अर्थतन्त्र एकअर्कामा निर्भर थियो, व्यापार युद्धपछि उत्पन्न परिस्थितिमा चीनले आफ्नो अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जोड दिन थालेको छ । यसले भावी दिनमा चीनमाथिको अमेरिकी दबाब कमजोर हुँदै जानेछ ।

नासाका वैज्ञानिकले चीन र अन्य एसियाली राष्ट्रमा उत्सर्जन हुने वायुकणले अमेरिकामा जाडो महिना थप चिसो हुने बताएका छन् । यी तथ्यांक ट्रम्प प्रशासनका लागि ठूलो चिन्ताको विषय हुन् । किनकि अमेरिकी नागरिकहरू नै यसप्रति चिन्तित देखिन्छन् । अप्रिलमा प्यु रिसर्च सेन्टरले गरेको सर्वेक्षणअनुसार अमेरिकी नागरिकमा चीनलाई लिएर रहेका विभिन्न चिन्तामध्ये एउटा विश्वव्यापी पर्यावरणमाथि चीनको प्रभाव पनि एक थियो ।

चीन र अमेरिकाको अर्थतन्त्रलाई अलग्याउने वासिंटनको प्रयासले परिस्थिति झनै बिगार्नेछ । ट्रम्पले आफ्नो दोस्रो कार्यकालका लागि अघि सारेका एजेन्डामा चीनभित्र कुनै निर्माण संयन्त्र बनाउने कम्पनीलाई संघीय कन्ट्र्याक्टबाट वञ्चित गर्ने विषय पनि छ । त्यस्तै उनले अमेरिकामा निर्माण संयन्त्र फिर्ता ल्याउने औषधि उद्योग, रोबोटिक्सजस्ता अत्यावश्यक उद्योगलाई ठूलो सहुलियत दिने बताएका छन् । यदि ट्रम्पले चाहेजस्तो भयो भने चीनका प्रदूषक उद्योग अमेरिका फर्किनेछन् । 

सन् २०१० मा चीनको निर्यात क्षेत्रबाट उत्सर्जित १८ लाख टन पिएम २.५ भनिने अति सूक्ष्म कण उत्सर्जन भएको थियो । यसको ६० प्रतिशत हिस्सा अमेरिका तथा ओइसिडीका सदस्य राष्ट्रलाई निर्यात गर्न उत्पादित संयन्त्रबाट उत्सर्जित भएका थिए । नयाँ तथ्यांक आइसकेका छैनन्, तर मे महिनामा नेचर कम्युनिकेसनमा प्रकाशित एक अध्ययनअनुसार सन् २०१२ मा चिनियाँ उद्योगबाट उत्सर्जित कार्बनडाइअक्साइडमध्ये १४.६ प्रतिशत विदेशी उपभोग्य सामान निर्माण गर्दा उत्पन्न भएका थिए । यसमा अमेरिका र जापानका लागि उत्पादित सामानको हिस्सा सबैभन्दा ठूलो थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिका–चीन सम्बन्धलाई एउटाले जित्दा अर्कोले हार्ने खालको सम्बन्धको रूपमा व्याख्या गर्छन् । सन् २०१५ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले भनेका थिए, ‘मैले आफ्नो व्यापारमा चिनियाँ नागरिकलाई हराएको छु । मैले चीनविरुद्ध जितेको छु । तपाईंहरूले पनि दिमाग लगाउनुभयो भने चीनविरुद्धको खेल जित्न सक्नुहुन्छ ।’ वातावरण संरक्षणको विषयमा त चीन अमेरिकाबीचको विवादले दुवै देशलाई बेफाइदा गर्छ । 

जनस्वास्थ्यविज्ञ हुयाङ सेटन हल युनिभर्सिटीका प्राध्यापक हुन् । 
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

"via The New York Times"
 

सुझावित समाचार