मंगलबार नेप्से परिसूचक करिब १० अंकले घटेको छ । कारोबार खुलेदेखि नै घट्न थालेको बजार अन्त्यसम्म ओरालो लाग्ने क्रममा नै रह्यो । बजारले स्पष्ट दिशा नदिइरहँदा बुलिस प्रवृत्ति कमजोर भइरहेको छ । लगानी रकममा समेत कमी आउन थालेको छ । सूचक १ हजार ५ सय ६८ बिन्दुमा सीमित हुँदा कारोबार रकम पनि घटेर १ अर्ब ८१ करोडमा खुम्चिएको छ ।
कारोबारमा आएकामध्ये १७ कम्पनीको मूल्य बढेको, १ सय ३३ कम्पनीको मूल्य घटेको र १९ वटाको स्थिर रहेको छ । बजारमा विभिन्न कम्पनीका १ सय ९३ धितोपत्र तथा ऋणपत्रलगायतको किनबेच भएको छ । बजारमा उत्पादनमूलक, व्यापारमूलक र सामूहिक लगानी कोषबाहेक अन्य समूहगत परिसूचक भने घटेको छ । यस दिन कारोबार रकम र मूल्यवृद्धिका आधारमा भने ज्योति विकास बैंक अग्रभागमा नै रहेको छ । यद्यपि, कारोबार रकमका आधारमा भने अरुण काबेली जलविद्युत् पहिलो स्थानमा छ ।
ज्योति विकास बैंकले गत आव अन्त्यमा २४ प्रतिशतले कम नाफा कमाएको थियो । गत वर्षमा १२ दशमलव ७५ प्रतिशत बोनस सेयर दिएको यस बैंकको जगेडा कोषमा भने करिब ५४ प्रतिशतले वृद्धि भएर ७७ करोड रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य मुनाफाबाट भने ४ दशमलव २७ प्रतिशत मात्र लाभांश दिन सक्ने अवस्था छ । ११ दशमलव ७ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको बैंकको मूल्य आम्दानी अनुपात भने १८ गुणा छ ।
नेप्सेको प्राविधिक विश्लेषण
नेप्सेको मैनबत्ती चार्ट विश्लेषणले मंगलबार कालो मैनबत्ती बनाएको छ । बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गरिरहेको छ । बजारको आगामी दिशा भने बुधबारको कारोबारबाट मात्रै स्पष्ट हुनेछ । नेप्सेको रेखाचित्रमा बनाइएको ७ दिने र २१ दिने मुभिङ एभरेज रेखा नजिकिँदै गएकाले ध्यान दिनुपर्ने अवस्था आएको छ । हालसम्म ७ दिने रेखा माथि नै छ । तर, यो रेखाले २१ दिने रेखालाई काटेर तल लागेमा केही अवधि थप बजार घट्नेछ । आगामी ७ दिनमा नेप्सेले १ हजार ५ सय ५५ को आसपास टेवा पाउने सम्भावना पिभट र रेखाचित्र दुवैले देखाउँछ । यो दरिलो टेवा हुनेमा भने शंका छ ।
उद्योग खुलेपछि युनिलिभरको मूल्यवृद्धि
यस वर्ष कम लाभांश दिएको र उद्योगसमेत बन्द भएका कारण मूल्य घटेको युनिलिभर नेपालको मंगलबार भने एकै दिन ५ सय ५० रुपैयाँले मूल्य बढेर १८ हजार ३ सय ५० रुपैयाँ पुगेको छ । मंगलबार उद्योग पुनः सञ्चालनमा आएको खबर सार्वजनिक भएपछि मूल्य बढेको हो ।
जनरल इन्स्योरेन्सको कारोबार हुन सकेन
त्यस्तै, मंगलबारबाट पहिलो कारोबारका लागि खुला भएको जनरल इन्स्योरेन्स कम्पनीको सेयर किनबेच हुन सकेन । कम्पनीको पहिलो कारोबारका लागि १ सय १ देखि ३ सय ५ रुपैयाँको रेन्ज दिइएको छ । कम्पनीको १ करोड कित्ता सेयर सूचीकरण भएको हो । १०–१० कित्ताका दरमा सेयर वितरण भएका कारण लगानीकर्ताले आफूसँग रहेको १० कित्ता गुमाइहाल्न नचाहेको देखिन्छ । बिमा कम्पनीहरूको मूल्य माथिल्लो रेन्जभन्दा बढीमै कारोबार भइरहेकाले पनि बिक्री हुन नसकेको हो ।