ग्लोबल आइएमई बैंकले बाग्लुङको दमेक र डोटीको उच्चाकोटमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या दुई सय २७ पुगेको छ । बाग्लुङको जैमिनी नगरपालिका– ३, दमेकमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रूपमा टेकबहादुर कामी र डोटीको शिखर नगरपालिका– ९, उच्चाकोटमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रूपमा यज्ञराज पन्तलाई नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिसहोम, सिडिएमए, युटिएल र एनटिसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउन शाखारहित बैंकिङ सेवा सुरु गरेको ग्लोबल आइएमई बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुऱ्याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको दुई सय ५९ शाखा सञ्जालसहित दुई सय ३४ एटिएम, ४३ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, दुई सय २७ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि-सम्पर्क कार्यालयमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।