कोरोना संक्रमणका कारण दोलखामा पहिलोपटक वृद्धाको मृत्यु

शुक्रबार, २३ असोज, २०७७
डिजिटल संस्करण

दोलखाको वैतेश्वर गाउँपालिका– ७ की ८१ वर्षीया वृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । दुई साताअघि छिमेकी देश भारतबाट दोलखा आएकी उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

उपचारमा संलग्न चिकित्सकका अनुसार कोरोनाको लक्षण देखिएपछि उनको स्वाब संकलन गरेर परीक्षणका लागि धुलिखेल पठाइएको र रिपोर्ट पोजेटिभ आएको हो । 

कोरोनाका कारण दोलखामा ज्यान गुमाउने उनी पहिलो रहेको जिल्ला संकट व्यवस्थापन समितिले जनाएको छ ।  मृतक वृद्धामा श्वास–प्रश्वास र निमोनियाको समस्या देखिएको थियो । 

नेपाली सेनाद्वारा अन्त्येष्टि
कोरोना संक्रमणका कारण मृत्यु भएपछि उनको शव परिवारलाई जिम्मा लगाउन नमिल्ने व्यवस्थाअनुसार शुक्रबार नेपाली सेनाले अन्त्येष्टि गरेको छ । जिल्ला संकट व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी रमेश सिवाकोटीले मृतकको परिवारका सदस्यहरूको सहमतिमा नेपाली सेनासहित अन्य सुरक्षाकर्मीहरूले नजिकैको खोर्थली सामुदायिक वनमा शव व्यवस्थापन गरिएको जानकारी दिए । 

उनले स्वास्थ्य मन्त्रालयको कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधिका आधारमा शव व्यवस्थापन गरिएको बताए । मृतक वृद्ध महिलाको सम्पर्कमा आएका परिवारका सदस्यको स्वाब संकलन तत्काल गरिने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
 

सुझावित समाचार