ट्राफिकले खोजेर जिम्मा लगायो चोरी भएका मोटरसाइकल

शुक्रबार, २३ असोज, २०७७
डिजिटल संस्करण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २६ वटा मोटरसाइकल खोजेर सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

कोरोना भाइरसको महामारीबीच पनि महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारीसाधन गोप्य ढंगले खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो । 

उपत्यकाका नयाँ बसपार्क, ठमेल, लाछीटोल, बोडे, सूर्यविनायक, बसुन्धरा, वनस्थली, नयाँ बानेश्वर, सानेपा, गौशाला, नक्साल, ठमेल, शान्तिनगर, सामाखुसी, छाउनी, बालाजु, लैनचौर, नयाँ बसपार्क, ज्ञानेश्वर, इमाडोल, जडीबुटी, वनकाली, जोरपाटी र पुतलीसडकलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी शुक्रबार सम्बन्धित धनीलाई यस महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जिम्मा लगाएका हुन् ।

‘एकान्त ठाउँको पार्किङस्थल, घरको गेटबाहिर, अस्पताललगायतका स्थानमा अतिरिक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका सवारी मर्मत नगरेर, घरमा पार्किङ गरेको भनी लापरबाही वा असुरक्षित पार्किङ गरेर मोटरसाइकलहरू बढी चोरी भएको देखिन्छ,’ महाशाखाका प्रमुख ढकालले भने । 

चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाइन १०३ वा अनलाइन सेवा Lost Vehicle Application मा लगइन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको महाशाखाले जनाएको छ । 

महाशाखा प्रमुख ढकालले सवारीसाधनलाई चोरीबाट बच्नका लागि सवारीसाधनमा अतिरिक्त लक प्रयोग गर्न, अलारामलगायतका उपकरण जडान गर्न, घर कम्पाउन्माडपार्किङ गरेको भनी ढुक्क नपर्न र एकैछिन हो भनी अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि सुझाब दिए ।

शुक्रबार बमबहादुर विश्वकर्मा, रिना मगर, पवन राई, वासुदेव पोखरेल, राजु तामाङ, अप्सरा खत्री, विकास कारञ्जित, सुरजराम श्रेष्ठ, केशव अधिकारी, रामविक्रम सिजापती, जयरामप्रसाद कुशवाह, कुमार बोगटी, इन्द्रकुमार सुनुवार, अनिता सुवाल, जा. बज्राचार्य, पूर्णमाया पाख्रिन, नीरज पाण्डे, धनवीर योञ्जन, मीना केसी, शिवशंकर श्रेष्ठ, कृष्ण बुढाथोकी, रामकुमारी श्रेष्ठ, रामानन्द शाह, सुजन सैजु, भुनिमा तामाङ र लेखनाथ भुसालका मोटरसाइकलहरू जिम्मा लगाएको हो ।

महाशाखाले चालू आव ०७६/०७७ मा मात्रै चोरी भएका तीन सय २५ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो भने लकडाउनदेखि हालसम्म अवधिमा पनि ६४ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई बुझाइसकेको जनाएको छ ।

सुझावित समाचार