विभिन्न प्रकृतिका अपराध गरेर लुकिछिपी बसेका फरार अभियुक्तलाई कञ्चनपुर प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । अपराध गरेर भागेका प्रहरी सूचिका फरार व्यक्ति, अदालतले विभिन्न मुद्दामा कैद, जरिवाना तोकेका व्यक्तिहरु कैद र जरिवाना भुक्तानी नगरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरिरहेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ४५ जना फरार अभियुक्त पक्राउ परेका छन् ।
४ साउनदेखि २२ असोजसम्म विभिन्न प्रकृतिका अपराध गरेर फरार रहेका अभियुक्त पक्राउ परेका हुन् । साउनमा ८, भदौमा १५ र असोजमा २२ जना फरार अभियुक्त पक्राउ परेका छन् ।
कञ्चनपुर प्रहरी प्रवक्ता अमर बहादुर थापा(क्षेत्री)ले अदालतबाट कैद तोकिएका,अपराध गरेर गाउँघरमा लुकिछीपी बसेकाहरुलाई पक्राउ गरि सम्बन्धित निकायमा पेश गरिएको बताए ।
प्रवक्ता थापाका अनुसार चोरी, डकैती, कर्तव्य ज्यान, बलात्कार, सामुहिक बलात्कार, सवारी ज्यान, लागु औषध, कुटपिट, अवैध मुद्रा, झुटा बकपत्र, चेक अनादर, वन चोरी तस्करी, आत्महत्या दुरुत्साहन, अपहरण, शरिर बन्धक, बहुविवाह लगायतका विभिन्न प्रकृतिका अपराध गरेर अभियुक्त पक्राउ परेका छन् ।