धनकुटाको सहिदभूमि गाउँपालिकामा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । सहिदभूमि गाउँपालिका– ७ पाखाका ४५ वर्षीय उपकान्छा भनेर चिनिने रामकिसान राईको भीरबाट लडेर मृत्यु भएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए ।
बुधबार साँझ दिदीको घरबाट आफ्नो घर फर्कँदै गरेका राईकाे सहिदभूमि गाउँपालिका– ६ हाङखा भीरबाट लडेर मृत्यु भएको हाे । दिदीको घरबाट घर फर्किएका राई राति अबेरसम्म पनि घर नआएपछि खोजी गर्दा उनी फेला परेनन् ।
बिहीबार बिहान घाँस काट्न जंगल गएका स्थानीयले मोबाइलको रिङटोन जंगलमा बजेको सुनेपछि राईको शव फेला पारेका थिए ।
शव फेला पारेलगत्तै इलाका प्रहरी कार्यालय छिन्ताङबाट गएको प्रहरी टोलीले मुचुल्का उठाएर पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा लास ल्याउने तयारी भइरहेको गाउँपालिका अध्यक्ष राईले बताए । बाटो अप्ठ्यारो भएका कारण राई चिप्लिएर करिब ३ मिटर तल खसेका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।