गण्डकी प्रदेशमा सोमबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुने २६ जना पोखरा महानगरका हुन् ।
पोखरा महानगरको वडा नम्बर ३ मा १० जना संक्रमित भएका छन् । वडा नम्बर १४ का तीनजना, वडा नम्बर १०, ७ र ११ का दुई–दुईजना र वडा नम्बर १७, १२, ३०, १३, १९, २२ र वडा नखुलेको एउटा वडाका एक–एकजना संक्रमित भएका हुन् ।
नवलपुरमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपुरको मध्यबिन्दुका एकजनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।
निर्देशक डा. शर्माका अनुसार पोखरा १४ का ५१ वर्षीय पुरुष फेवासिटी अस्पतालमा उपचाररत छन् ।
वडा नम्बर १४ का २२ वर्षीय पुरुष दुबईबाट आएका हुन् । वडा नम्बर १२ का ३६ वर्षीय पुरुष पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय पोखरामा कार्यरत चिकित्सक हुन् ।
बाँकी सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमित भेटिएका हुन् ।
सोमबार थपिएका संक्रमितसहित गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या चार हजार दुई सय दुई पुगेको छ ।