‘जनता माग्छ अस्पताल, सरकार दिन्छ भ्युटावर’

आइतबार, १८ असोज, २०७७
डिजिटल संस्करण

२१ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकले टिचिङ अस्पताल परिसरमा धर्ना दिएका छन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनको २१औँ दिन अनशन बसेका केसीको जीवनरक्षाको माग गर्दै आन्दोलित चिकित्सकले विगतमा भएका सम्झौता कार्यान्वयन गर्न अनुराेध गरेका छन् ।  

धर्नामा सहभागी चिकित्सक डा. सुवास देवकोटाले केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदासमेत सरकारले चासो नदिएको बताए । सास फेर्न गाह्रो हुने र छाती दुख्ने समस्याबाट पीडित केसीलाई आजबाट अक्सिजनसमेत दिन थालिएको उनले  बताए । तत्काल डा. केसीले उठाएका माग पूरा नभए कडा कदम चाल्ने चेतावनी पनि उनले दिए। 

अर्का चिकित्सक डा. अच्युत खनालले १८ पटकसम्मको अनसनका क्रममा वार्ताको माध्यमबाट भएका सम्झौता कार्यान्वयनमा समस्या देखिएको बताए । दुर्गम क्षेत्रमा सुलभ स्वास्थ्य सुविधा उपलब्ध गराउनुपर्ने केसीको मागमा अहिलेसम्म जनता र विभिन्न राजनीतिक दलले स्वस्फुर्त रूपमा ऐक्यबद्धता जनाउँदै आएकोमा सरकारले नसुनेकाले अब चिकित्सकसमेत खबरदारीका लागि आन्दोलित हुनुपरेको उनले बताए । 

नेपाल चिकित्सक संघले पनि केसीको माग पूरा गर्न माग गर्दै चिकित्सकको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । संघले तत्काल केसीका माग पूरा नगरे कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । 

संघका महासचिव बद्री रिजालले सक्दो चाँडो डा. केसीसँग सरकारले वार्ता गर्नुपर्ने बताए । वार्ताका लागि कुनै पहल नभए संघले आफ्नो आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले बताए । 

आन्दोलनमा सहभागी चिकित्सकले ‘कर्णाली विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु गर’, ‘हिजोको सम्झौता कता गयो ?’, ‘जनता माग्छ अस्पताल सरकार दिन्छ भ्युटावर’, ‘अख्तियारमाथिको हस्तक्षेप बन्द गर, दलीय भागबन्डा बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

सुझावित समाचार