मकालु बेस क्याम्प घुम्न गएका एक युवाको मृत्यु

आइतबार, १८ असोज, २०७७
डिजिटल संस्करण

संखुवासभाको सदरमुकाम खाँदबारीबाट मकालु बेस क्याम्प घुम्न गएका एक युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खाँदबारी नगरपालिका– १ ढोलबाजे घर भएका २४ वर्षीय विवेक श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले जानकारी दिए । 

उनले साथीहरूसँग मकालु बेस क्याम्प घुम्न र शिवधाराको दर्शन गर्न गएका श्रेष्ठलाई लेक लागेर मृत्यु भएको हुन सक्ने अनुमान गरेको बताए । 

यही १२ असोजमा सातजना युवाहरूको टोली जिल्लाको सदरमुकाम खाँदबारीबाट मकालु बेस क्याम्पको भ्रमण गर्न र शिवधाराको दर्शन गर्न गएका थिए । शिवधाराको दर्शनपछि मकालु गाउँपालिका– २ याङ्लेखर्क आइपुग्दा श्रेष्ठ सामान्य बिरामी भएका थिए । शुक्रबार राति सुतेकै स्थानमा मृत्यु भएको यात्रामा सहभागी जानकी पोखरेलले जानकारी दिइन् । 

घटनापछि मृतकको शव लिन हेलिकाेप्टरबाट मकालुमा अवतरण भएको थियो । तर, मौसम खराबको कारण आइतबार बिहान मात्रै खाँदबारीमा शव ल्याइएको छ । 

जिल्ला अस्पतालमा शवको पोस्टमार्टमपछि आफन्तजनले अरुण नदीमा अन्त्येष्टि गर्न लागेका छन् । 

शिवधारा समुद्री सतहबाट चार हजार ६ सय मिटरको उचाइमा रहेको धार्मिक तथा पर्यटकीय स्थल हो । 

मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्र र मकालु बेस क्याम्प घुम्न जानेहरू बर्सेनि निकै ठूलो भिड लाग्ने गर्दछ । 

अधिकांश मानिस साउनदेखि असोज महिनाभित्र घुम्न जाने गर्दछन् । अन्य समयमा हिउँले ढाकेर केही नदेखिने भएकाले बर्खामा जाने गरिन्छ ।

सुझावित समाचार