शक्तिमा आएपछि ट्रम्पले कर तिर्न छाडे

मंगलबार, १३ असोज, २०७७
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आयकर नबुझाएको रिपोर्ट सार्वजनिक भएको छ । अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले प्रकाशित गरेको रिपोर्टअनुसार ट्रम्पले आफू शक्तिमा आएपछि कर तिर्न छाडेको देखिएको छ । ट्रम्प राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा उत्रिएको पहिलो वर्ष सन् २०१६ र निर्वाचित भएको पहिलो वर्षमा सात सय ५० अमेरिकी डलर कर तिरेको समाचारमा उल्लेख छ । पत्रिकाले ट्रम्प र उनको कम्पनीको दुई दशकको कर ‘रेकर्ड’को अध्ययन गरेको जनाएको छ । आफूले प्राप्त गरेको प्रमाणअनुसार ट्रम्पले पछिल्लो १५ वर्षमध्ये १० वर्षमा पटक्कै कर नतिरेको दाबी पनि गरिएको छ । 

राष्ट्रपति ट्रम्पले भने समाचार गलत (फेक न्युज) भएको बताएका छन् । ‘वास्तवमा म कर तिर्छ‘ । जब मैले कर तिरेको कागज आइपुग्छ, त्यसपछि तपाईंले मैले कर तिरेको थाहा पाउनुहुनेछ,’ ट्रम्पले भनेका छन्, ‘अहिले लेखापरीक्षण भइरहेको छ ।’ ट्रम्पले आफूले कर तिरेको कागजपत्र सार्वजनिक गर्न मानिरहेका छैनन् । यद्यपि यसमा उनले कानुनी रूपमा चुनौतीको सामना गर्नुपर्नेछ । आफूले कर तिरेको प्रमाण सार्वजनिक नगर्ने ट्रम्प १९७० पछिको पहिलो राष्ट्रपति बनेका छन् । 

अमेरिकामा कानुनले नै आफूले कर तिरेको प्रमाण सार्वजनिक गर्नु भनेको छ । अर्काे कार्यकालका लागि समेत राष्ट्रपतिको उम्मेदवार बनेका ट्रम्पको अभियानमा यो समाचारले ठूलो असर गर्न सक्छ । निर्वाचनअघि विपक्षी उम्मेदवार जोई वाइडेनसँगको पहिलो सार्वजनिक बहसको केही दिनअघि राष्ट्रपति ट्रम्पले करछली गरेको समाचार सार्वजनिक भएको हो ।

महत्वपूर्ण दाबी के छन् ?
न्युयोर्क टाइम्सले समाचार तयार पार्नुअघि १९९० सम्मको ट्रम्प र ट्रम्प अर्गनाइजेसनको नेतृत्वमा रहेको कम्पनीहरूले कर तिरेको प्रमाण हेरेको दाबी गरेको छ । त्यसअनुसार ट्रम्पले २०१६ र २०१७ मा दुईपटक ७५० डलर आयकर तिरेको देखिएको जनाइएको छ । त्यसबाहेक पछिल्लो १५ मध्ये १० वर्षमा एक रुपैयाँ पनि आयकर नतिरेको पत्रिकाले उल्लेख गरेको छ । पत्रिकाले यो अवधिमा ट्रम्पले आफूले कमाउनेभन्दा बढी खर्च भएको रिपोर्ट सम्बन्धित निकायमा बुझाएर करछली गरेको आरोप पनि लगाएको छ । 

राष्ट्रपति निर्वाचित हुनुअघि ट्रम्प सेलेब्रिटी व्यापारी र सम्पत्ति ‘मुगल’का रूपमा परिचित थिए । यद्यपि ट्रम्पले कर कार्यालयमा बुझाएको रिपोर्टमा भनेका छन्, ‘एउटा व्यापारीको चित्रण, जसले एकै वर्षमा दशौँ लाख डलर दिन्थ्यो, आज दीर्घकालीन घाटा व्यहोर्नुपरेको छ । जसले गर्दा कर तिर्नुपर्ने बाध्यता पनि परेको छैन ।’ राष्ट्रपति निर्वाचित भएपछि उनको आम्दानीमा अझ बढावा आएको धेरैको बुझाइ छ । तर, उनले रिपोर्टमा ४७.४ मिलियन डलर घाटा व्यहोरेको जनाएका छन् । 

ट्रम्प अर्गनाइजेसनले पनि करछली गरेको आरोप झुटो भएको जनाएको छ । ‘समाचारमा प्रयोग गरिएका सबै तथ्य अनुपयुक्त देखियो,’ कम्पनीका प्रमुख कानुनी अधिकृत एलान गार्टनले भनेका छन्, ‘अघिल्लो दशकमा राष्ट्रपति ट्रम्पले दशौँ मिलियन डलर कर तिरेका छन् । २०१५ मा राष्ट्रपतिको उम्मेदवार घोषणा गरेपछि पनि दशौँ लाख कर तिरेका छन् ।’

रिपोर्टले के भन्छ ?
न्युयोर्क टाइम्सले प्राप्त गरेको भनिएको रिपोर्टमा गल्फ कोर्स, होटेलजस्ता ट्रम्पको ठूला व्यवसायले पनि वर्षैपिच्छे लाखौँ डलर रुपैयाँ घाटा व्यहोरेको उल्लेख भएको जनाइएको छ । आफ्नो कम्पनी ऋणमा डुबेपछि थप ‘लोन’ लिनुपरेकोसमेत जनाइएको छ । यद्यपि, पत्रिकाले राष्ट्रपति ट्रम्पको नेतृत्वमा रहेको कम्पनीहरूले उनीबाट सहयोगको अपेक्षा गरेको अरू धेरै लगानीकर्ताबाट रकम प्राप्त गरेको दाबी गरेको छ । ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि उनको कम्पनीले थप ठूलो कमाइ गरेको जिकिर गरेको छ । पत्रिकाले आफ्नो अध्ययनबाट उनी राष्ट्रपति बनेको दुई वर्षको अवधिमै ७३ मिलियन डलर कमाइ गरेको दाबी गरेको छ । त्यसमध्ये धेरैजस्तो कमाइ आयरल्यान्ड र स्कटल्यान्डमा रहेको गल्फ कोर्सबाट आएको उल्लेख छ ।

See More On

सुझावित समाचार