कोरोना भाइरसबाट विश्वमा १० लाखभन्दा बढीको मृत्यु, तीन करोड ३३ लाखभन्दा बढी संक्रमित

सोमबार, १२ असोज, २०७७
डिजिटल संस्करण

महामारीका रूपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ३३ लाख ११ हजार पुगेकाे छ । कुल संक्रमितमध्ये दुई करोड ४६ लाख ३९ हजार निको भएका छन् भने ७६ लाख ७० हजार मानिस सक्रिय संक्रमित छन् । विश्वभर अझै पनि ६५ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । 

पेसा–व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या पनि ७३ लाख २१ हजार नाघिसकेको छ । कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख नौ हजारभन्दा बढीको मृत्यु भएको छ ।  

विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ६० लाख ७४ हजार सात सय दुईजना  संक्रमित भएका छन् ।  यहाँ ९५ हजार पाँच सय ७४ जनाको ज्यान गइसकेको छ । यस्तै ब्राजिलमा ४७ लाख ३२ भन्दाबढी व्यक्ति संक्रमित भएकामा एक लाख ४१ हजार सात सय ७६ भन्दा बढीको मृत्यु भएको छ । 

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि २० हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ । यहाँ दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।

युरोपेली मुलुकहरू खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धको घोषणा गर्न थालिएको छ । 

सुझावित समाचार