पहिले नर्सहरूलाई भोलेन्टियर राखिन्थ्यो, अहिले ६ हजारमा पनि काममा लगाइएको छ

बिहिबार, ८ असोज, २०७७
डिजिटल संस्करण

नर्सिङ पढ्न कति लगानी लाग्छ ? 

शुल्क बेहिसाब छ । त्रिभुवन विश्वविद्यालयले पढाउँदा स्टाफ नर्सको खर्च करिब तीन लाखमा सकिन्थ्यो । पछिल्लो समय सिटिइभिटीले सो कार्यक्रम सञ्चालन गर्दा पनि तीनदेखि चार लाखमा पढाउने हो । तर, हाल कागजमा तीन लाख देखाउने, तर टेबुलमुनिबाट थप चारदेखि पाँच लाख रुपैयाँसम्म लिने गरेका गुनासा छन् । त्यस्तै बिएन, बिएस्सीको अध्ययनका लागि सरकारीभन्दा निजीले दोब्बरभन्दा बढी रकम लिन्छन् । जस्तो कि सरकारी कोटामा बिएन नर्सिङ पढ्न तीन लाखमा सकिन्छ । तर, त्यही अध्ययन गर्न निजीमा ६ लाख तिर्नुपर्छ ।

त्यस्तै बिएस्सी नर्सिङका लागि सरकारीमा शुल्क ६ लाख हाराहारी छ, निजीमा १० लाखको वरिपरि रहेको छ । त्यस्तै मास्टर्स अफ नर्सिङ (एमएन) गर्न गत वर्ष त्रिविमा तीन लाख रुपैयाँ थियो । तर, निजीमा १६ लाख रुपैयाँसम्म लिएका छन् । यसरी कानुनी रूपमा एउटा नीति बनाउने, तर विद्यार्थी र अभिभावकलाई आर्थिक रूपमा शोषण गर्ने क्रम जारी छ । अभ्यासका लागि आफ्नै अस्पताल नहुने नर्सिङ कलेजहरूले पनि अस्पताल भएकाहरूसरह शुल्क लिएका छन् । उनीहरूले अस्पतालबाहेक अन्य विभिन्न शीर्षक खडा गरेर अतिरिक्त शुल्क असुल्दै आएका छन् । 

यति चर्को शुल्क तिरेर नर्सिङ पढेपछि काम सुरु गर्दा पनि पारिश्रमिक भने निकै कम छ भन्ने गुनासो छ । कति अस्पतालले स्वयंसेवी पनि बनाउँछन् भन्ने सुनिन्छ, खासमा नर्सको पारिश्रमिक औसतमा कस्तो छ ? 

नर्सहरूको पठनपाठन पनि विभिन्न तहको छ । नर्सहरूले अनमी/नर्स, स्टाफ नर्स, बिएन, बिएस्सी र मास्टर्स अफ नर्सिङ (एमएन) पढेका हुन्छन् । अनमी पास गरेकालाई २५ हजार र स्टाफ नर्सको तलब २८ हजार भनिएको छ । तर, बेरोजगारीका कारण स्टाफ नर्स, बिएन, बिएस्सी गरेका नर्सहरू पनि अनमीकै जागिर खान गएका छन् । उनीहरूले पाउने तलब पनि अनमीबराबरकै हो ।

तर, यो तलब सरकारी अस्पतालमा मात्र लागू हुने हो । निजी अस्पतालमा त १० हजारको हाराहारीमा तलब छ । जसरी पनि जागिर खानुपर्ने भएकाले थोरै पारिश्रमिक पनि स्विकार्न नर्सहरू बाध्य छन् । बाध्यताले नर्सहरू अन्यायमा परेका छन् । अझ नर्सहरूलाई महिनौँसम्म ‘भोलेन्टियर’ राख्ने अवस्था थियो । त्यसको विरुद्धमा आवाज निरन्तर उठेपछि त्यो स्थगित भएको छ । तर, अहिले ‘अब्जर्भेसन’मा भनेर राखिएको छ, यस्तोमा मासिक ६ हजार मात्र पारिश्रमिक दिने गरिएको छ । यसरी नर्समाथि शोषण भइरहेको छ । 

नर्सिङ भनेको आमपेसा होइन, यो मानवीय सेवा पनि हो । यस्तो मानवीय पेसामा लागेको जनशक्तिको श्रम शोषण भइरहेको छ भनेर नर्स आन्दोलनमा पनि छन् । 

‘नर्सिङ’ पेसामा देखिएको सबैभन्दा ठूलो समस्या श्रम शोषण हो । काम लगाउने, तर तलब ज्यादै थोरै दिने गरिएको छ । जोखिम भत्ता, रात्रिकालीन काम गरेबापत भत्ता नदिएर अन्याय गरिएको छ । त्यस्तै सुत्केरी हुँदा सरकारले ९८ दिन बिदा तोकेको छ । तर, अस्पतालहरूले महिना दिनभित्रै काममा बोलाउँछन्, कतिपयले त दुई सातामै पनि सुत्केरी नर्सलाई काममा लगाएका छन् । नर्सहरूमाथि श्रम शोषण यस्तो छ कि नर्सहरूले मात्र आवाज उठाएर पर्याप्त हुँदैन । यो शोषण अन्त्य गर्न सरकार आफैँ अग्रसर हुन जरुरी छ । यसका लागि नेपाल नर्सिङ संघका तर्फबाट दबाब दिइएको छ । तर, सुनुवाइ भएको छैन । त्यसैले नर्सहरू आन्दोलनरत भएका छन् । 

याे पनि पढ्नुहाेस् : मानवीय सेवामा खटिने नर्समाथि निजी अस्पतालको अमानवीय अत्याचार : पढाइमा १० लाख खर्च, पारिश्रमिक १० हजार (भिडियो रिपोर्टसहित)

See More On

सुझावित समाचार