निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्राे टर्मिनल भवन निर्माण हुने भएको छ । पर्यटनमन्त्री योगेश भट्टराईले सोमबार सामाजिक सञ्जालमा विमानस्थलको दोस्रो टर्मिनलमा बन्ने भवनको डिजाइनका विभिन्न फोटो सेयर गर्दै काम अघि बढेको जानकारी गराएका हुन् ।
दोस्राे टर्मिनल भवन हाल बनेको भवनको पश्चिमछेउ बन्ने जनाइएको छ । भवन बनाउने स्थानको माटो परीक्षणको कामसमेत भएको जनाइएको छ । विमानस्थलको दोस्रो भवन बनाउने विषयमा सम्पूर्ण काम मन्त्रालयबाट भइरहेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । ‘बजेटलगायतका सबै विषयमा मन्त्रालयबाट काम भइरहेको छ,’ अधिकारीले भने । भवन निर्माणका लागि एसियाली विकास बैंकसँग कुरा भइरहेको उनले बताए ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । विमानस्थलमा उपकरण जडान र फिनिसिङलगायत केही प्राविधिक काम मात्रै बाँकी छन् । विमानस्थलको भौतिक प्रगति ९३ प्रतिशत सकिएकोे छ ।
विमानस्थलका लागी आवश्यक अधिकांश उपकरण आइसकेको छ । अन्तर्राष्ट्रिय उडान सहज भएसँगै विदेशबाट जनशक्ति आएर बाँकी काम सम्पन्न हुने अधिकारीले बताए ।

०७१ माघमा शिलान्यास भएको विमानस्थल २०७४ पुस मसान्तभित्र पूरा गर्नुपर्ने भए पनि विभिन्न अवरोधका कारण हुन सकेको छैन । नर्थ वेस्ट कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।