बिहीबारदेखि चन्द्रागिरि केबलकार सञ्चालनमा आउने

बुधबार, ३१ भदौ, २०७७
डिजिटल संस्करण

विगत  ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । गत २९ भदौको मन्त्रिपरिषद् बैठकको  निर्णयलाई टेकेर केबलकार सञ्चालन गर्न लागिएको चन्द्रागिरि हिल्सले जनाएको हो  ।

नयाँ पर्यटकीय हब चन्द्रागिरि केबलकार विशेष सुरक्षा विधि अपनाएर बिहीबारदेखि सञ्चालनमा आउने चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए । राजधानीमा जारी निषेधाज्ञा खुकुलो भएसँगै अहिले काठमाडौं  उपत्यकाभित्रका विभिन्न व्यापार–व्यवसाय पनि बिस्तारै चलायमान भइरहेका छन् ।

चन्द्रागिरि केबलकार र रिसोर्टलाई विगतका वर्षहरूमा भन्दा करिब ५० प्रतिशत कम मान्छे जम्मा हुने गरी सञ्चालनमा ल्याइने शाहले बताए । 

चन्द्रागिरि केबलकारको एउटा कारमा सामाजिक दूरी कायम गर्दै  चारजना मात्रै यात्रा गर्नुपर्ने कम्पनीले नियम कायम गरेको छ  । यसअघि आठजनाले यात्रा गर्थे ।  

शाहका अनुसार सेवाका लागि प्रवेशद्वारदेखि हरेक ठाउँमा गोलो घेरा लगाउने, स्यानिटाइज गर्नेलगायत सम्पूर्ण व्यवस्था मिलाइसकिएको छ । उनले भने, ‘अब पहिलो चरणमा ५० प्रतिशत क्षमताका आधारमा बिस्तारै सञ्चालन गरिनेछ ।’

 विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) तथा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्डअनुरूप कम्पनीले केबलकार र रिसोर्ट सञ्चालनको तयारी गरिएको छ ।

सुझावित समाचार