वाइडेनको चुनावी अभियानका लागि ब्लुमबर्गले दिए १० करोड डलर

सोमबार, २९ भदौ, २०७७
डिजिटल संस्करण

 न्युयोर्क सिटीका पूर्वमेयर माइकल ब्लुमबर्गले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो वाइडेनको चुनावी प्रचारमा सघाउन १० करोड अमेरिकी डलर चन्दा दिने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएअनुसार  यो रकम विशेषगरी फ्लोरिडा राज्यमा चुनावी अभियानमा खर्च गरिनेछ । 

आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपतिका दुई उम्मेदवारहरू राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो वाइडेनबीच कडा प्रतिस्पर्धा हुने जनमत सर्वेक्षणले देखाएको छ। अझ ‘ब्याटलग्राउन्ड’ राज्यका रूपमा चिनिने फ्लोरिडामा दुवै उम्मेदवारबीच मतान्तर अति झिनो देखिएको छ ।  

अमेरिकामै सबैभन्दा ठूलो राज्यका रूपमा रहेको फ्लोरिडामा विजयी हुन दुवै उम्मेदवारले विशेष ध्यान दिइरहेका छन् । दोस्रो कार्यकालका लागि ट्रम्पलाई फ्लोरिडामा विजयी हुनैपर्ने चुनौती छ । 

अमेरिकी चुनावमा राष्ट्रपतिमा विजयी हुन दुई सय ७० निर्वाचन मण्डल प्राप्त गर्नुपर्नेछ । रिपब्लिकन पार्टीका नेता फ्लोरिडामा विजयी हुनेमा विश्वस्त देखिएका छन् । सन् २०१८ मा सम्पन्न सिनेट चुनावमा पनि यहाँ रिपब्लिकन उम्मेदवार विजयी भएका थिए । 

रिपब्लिकन पार्टीले फ्लोरिडाका ल्याटिनो मतदातालाई आकर्षित गर्न चुनावी अभियानमा करोडौँ रकम खर्चिएको छ । पछिल्ला मत सर्वेक्षणले पनि ल्याटिनो समुदायको मत ट्रम्पतर्फ झुकेको देखाएका छन् । 

अमेरिकी अर्बपति ब्लुमबर्गले गत वर्ष आफैँ डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुने भन्दै चुनावी अभियान पनि थालेको थिए । उनले चुनावमा करिब एक अर्ब डलर खर्चेका थिए, तर पर्याप्त जनसमर्थन नपाएपछि वाइडेनलाई समर्थन गर्दै चुनावी प्रतिस्पर्धा त्यागेका थिए ।  

ब्लुमबर्गले यसअघि पनि ट्रम्पलाई पराजित गर्न भन्दै डेमोक्रेटिक पार्टीका लागि करोडौँ डलर खर्च गरिसकेका छन् । उनले आफ्नो चुनावी कार्यक्रमबाट बचेको करिब एक करोड ८० लाख डलर यसअघि नै डेमोक्रेटिक राष्ट्रिय समितिलाई हस्तान्तरण गरिसकेका छन् । 

तस्बिर : सिएनबिसी डटकमबाट 

सुझावित समाचार