सिन्धुपाल्चोकका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न देउवाको माग

आइतबार, २८ भदौ, २०७७
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिरो पीडितको छिटाे उद्धार, राहत र सुरक्षित स्थानान्तरणका लागि सरकारसँग माग गरेका छन् । 

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ का तीन स्थान– नागपुजे, भिरखर्क र नेवारटोलमा पहिरो जाँदा सातजनाको मृत्यु र २४ जना बेपत्ता भएपछि देउवाले घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता जोखिम हुन नदिन बस्ती नै स्थानान्तरणको माग गरेका हुन् । 

‘प्राकृतिक विपतको यस घडीमा बेपत्ताहरूको तीव्रताका साथ खोजी गर्न, घाइतेहरूलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अतिआवश्यक सामग्रीहरू– खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा, औषधि र अस्थायी बसोवासको तत्काल व्यवस्था गर्न म सरकारसँग आग्रह गर्दछु,’ विज्ञप्ति जारी गर्दै देउवाले भनेका छन् । 

उनले थपेका छन्, ‘सिन्धुपाल्चोकमा पछिल्लो समय पटक–पटक पहिरोले क्षति गरेको तथ्य दृष्टिगत गर्दै भूगर्भविद्हरूले औँल्याएका जोखिमका बस्तीहरूका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब गर्न प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउँदै सरकारसमक्ष माग गर्दछु ।’

उद्धार र राहतको मानवीय कर्तव्यमा थप सक्रियताका साथ लाग्न देउवाले पार्टीपंक्तिलाई आग्रह पनि गरेका छन् । 

सुझावित समाचार