सुनसरीको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीलाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक भारतीय ठेकेदार पक्राउ परेका छन् ।
शुक्रबार राति भारतीय ठेकेदार बब्लु भगतले अन्सारीलाई गोली हानी ज्यान मार्ने धम्की दिएका थिए । नेपालमै रहेका भगतलाई धम्की दिएलगत्तै प्रहरीले पक्राउ गरेको हो ।
अध्यक्ष अन्सारीका अनुसार ती ठेकेदारले फोनमा ज्यान मार्ने धम्की दिएका थिए । राति धम्की आएपछि अन्सारीले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले राति नै कोसी गाउँपालिका– ८ स्थित भन्टाबारीबाट भगतलाई नियन्त्रणमा लिएको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए ।
भगतले कोसी प्रोजेक्टको काम गर्दै आएका थिए । उनले नेपालतर्फ भारतका विभिन्न ठेक्कापट्टा हेर्ने गरेको बताइएको छ ।
उनी लामो समयदेखि नेपालमा ठेक्कापट्टा गरेर बस्दै आएको खुलेको छ । उनको ससुराली कोसी गाउँपालिकामा भएकाले एक पारिवारिक विवादमा अध्यक्ष अन्सारीले हस्तक्षेप गरेको भगतले आरोप लगाउँदै आएका थिए । सोही विषयलाई लिएर धम्की दिएको हुन सक्ने प्रहरीले जनाएको छ ।
भगत पक्राउ पर्दा अत्यधिक मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेको एसपी थापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी थापाले बताए ।