हातहातमै नगद पाएपछि लिदीवासी खुसी

शनिबार, २७ भदौ, २०७७
डिजिटल संस्करण

प्राकृतिक विपत्तिले गाउँ नै उजाड बनेपछि सुरक्षित स्थान खोज्दै बाँसखर्क आइपुगेका जुगल गाउँपालिका लिदीका पहिरोपीडित भदौरे झरीको चिसोमा दिन कटाइरहेका छन् । 

चिसो चउरमा ठडिएका चाइनिज टेन्टको बसाइ कष्टकर भए पनि सुरक्षित स्थानमा बस्न पाएकोले लिदीवासीको मन थामिएको छ । पहिरोबाट बाँचेर आएका विस्थापितलाई दिनहुँजसो कुनै न कुनै संघसंस्था वा व्यक्तिले राहत पुऱ्याउने गरेका छन् । राहत लाने सबै संघसंस्थाले गाउँपालिका वा वडालाई जिम्मा लगाउने गरेका छन् । 

तर, शुक्रबार फरक तरिकाले राहत वितरण गरिएको छ । नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषद्ले पहिरोपीडितको हातहातमै नगद रकम वितरण गरिदिएको हो । घेदुङले २७ लाख रुपैयाँ पीडितको हातहातमै थमाएको छ । जिल्लामा बाढीपहिरोपीडितलाई गरिएको सहयोगमा यो आजसम्मको सबैभन्दा ठूलो नगद सहयोग हो । 

तामाङ समाजको विदेशस्थित विभिन्न संगठनबाट प्राप्त २२ लाख १२ हजार र सिन्धुपाल्चोक शाखामा जम्मा भएको चार लाख ८९ हजार नगद पीडितको हातहातमा वितरण गरिएको हो । पीडितलाई सहयोग हस्तान्तरण गर्न सिन्धुपाल्चोक घेदुङका अध्यक्ष रेशम स्याङ्बोले चाँजोपाँजो मिलाएका हुन् ।

पहिरोमा ज्यान गुमाएका ३९ जनाको १२ घरका परिवारलाई जनही ६० हजार, पहिरोमा घर ध्वस्त भएका १७ परिवारलाई जनही २५ हजार र गाउँ छोडेका एक सय ४१ विस्थापित परिवारलाई जनही १० हजारका दरले राहत वितरण गरिएको स्याङ्बोले जानकारी दिए । 

एक लाख रुपैयाँ गत बिहीबार बराम्ची भिरबाट लडेर मृत्यु भएकी गर्भवती महिला सञ्चमाया तामाङको परिवारलाई सहयोग गरिएको छ । राहत संकलनका लागि पूर्वसांसद दावा तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा र नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले सहयोग गरेका थिए । हातहातमै नगद पाएपछि लिदीवासी खुसी भएका छन् । 

दुई हप्तादेखि चिसोमा बसिरहेका बालबच्चा, वृद्धवृद्धा र गर्भवती महिला बिरामी पर्न थालेकोले नगद रकम पाउँदा खुसी लागेको उनीहरूले बताए । ‘मेरा नातिनातिना बिरामी परेका छन् । अब औषधि किनेर उपचार गर्छु,’ रकम पाएपछि खुसी हुँदै ७१ वर्षीया निजमाया दोङले भनिन् ।

नगद पाउँदा खुसी लागेको बताउँदै फजुल खर्च नगरी नयाँ घर बनाउन जम्मा पारेर राख्ने योजना रहेको अर्का पीडित निराज तामाङले बताए । त्यसैगरी गैरआवासीय नेपाली संघ (एनआरएन)का उपाध्यक्ष सोनाम लामा र एनआरएनकै बहराइन च्याप्टरका पूर्वाध्यक्ष श्याम तामाङले लिदीवासीलाई नगद सात लाख १८ हजार नगद वितरण गरेका छन् । 
 

सुझावित समाचार