काठमाडौं उपत्यकाभित्रको सुरक्षामा खटिएका आठ सय ९७ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये दुई सय २३ प्रहरी निको भएर घर फर्किनुका साथै कतिपय नियमित काममा खटिसकेका छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार संक्रमण हुने संख्या सबैभन्दा धेरै महानगरीय प्रहरी परिसर काठमाडौंमतहत खटिएका प्रहरीमा छ। त्यसपछि ललितपुर, भक्तपुर परिसर र अपराध अनुसन्धान महाशाखामातहत खटिएका प्रहरी कोराना संक्रमित भएका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था ठीक रहेको कार्यालयका प्रवक्ता एसएसपी सुशील यादवले बताए । ‘आठ सय ९७ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ । जसमध्ये दुई सय २३ निको भएर फर्किसकेका छन्,’ एसएसपी यादवले भने, ‘संक्रमितमध्ये कसैको पनि स्वास्थ्य अवस्था गम्भीर छैन । यो खुसीको विषय हो ।’
कार्यालयका अनुसार संक्रमित सुरक्षाकर्मी सबैलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उनीहरू कसैलाई पनि परिवारको सदस्यसँग भेट गर्न दिएको छैन । डिएसपीदेखि तल्लो सबै दर्जाका प्रहरी कर्मचारीमा संक्रमण देखिएको छ ।