गण्डकी प्रदेशमा शुक्रबार थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार नवलपुरमा मात्रै ३३ जना संक्रमित थपिएका हुन् ।
कास्कीका १२ जना, तनहुँका ११ जना, लमजुङका पाँचजना, स्याङ्जाका दुईजना र पर्वतका दुईजनामा थप संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।
कास्कीको पोखरा महानगरका दुईजना, तनहुँका एकजना र स्याङ्जा पुतलीबजारका एकजना गरी चारजना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिकमा परीक्षणको लागि आएका व्यक्ति रहेको निर्देशनालयले जनाएको छ ।
पोखरा महानगरका ३२ वर्षीय पुरुष मेट्रोसिटी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् भने ३५ वर्षीया महिला सोही अस्पतालमा उपचाररत छिन् ।
लमजुङ बेसीसहरकी ३२ वर्षीया महिला लमजुङ सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् ।
तनहुँ भानुका पाँचजना सशस्त्र प्रहरी संक्रमित थपिएको निर्देशनालयले जनाएको छ ।
जम्मा संक्रमितको संख्या दुई हजार सात सय ९५ पुगेको छ ।
संक्रिय संक्रमितको संख्या नाै सय ५९ पुगेको छ । संक्रमितमध्ये एक हजार आठ सय १४ निको भएका छन् । २२ जनाको भने निधन भएको छ ।