गण्डकी प्रदेशमा कास्कीका दुईसहित थप १७ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमित हुनेमा कास्कीको पोखरा वडा नम्बर १ का ६२ वर्षीय पुरुष र वडा नम्बर १० का २६ वर्षीया महिला छन् ।
नवलपुरमा १२ जना संक्रमित थपिएका छन् । ११ जना गैँडाकोटका र एकजना कावासोती नगरपालिकाका हुन् ।
स्याङ्जाको पुतलीबजारका दुईजना र तनहुँ शुक्ला गण्डकीका एकजना रहेका छन् ।
संक्रमितमध्ये पोखराका दुईजना, तनहुँ र स्याङ्जा पुतलीबजारका एक–एकजना गरेर चारजना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिकमा आएका हुन् । बाँकी कन्ट्रयाक्ट ट्रेसिङका क्रममा भेटिएका निर्देशनालयका निर्देशक विनोदबिन्दु शर्माले जानकारी दिए ।
शुक्रबार थपिएकासहित गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या दुई हजार सात सय ४७ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या नौ सय ११ छ । एक हजार आठ सय १४ जना निको भएर फर्किएका छन् भने २२ जनाको संक्रमणका कारण ज्यान गुमेको छ ।