पत्रकार वीरेन्द्र साहका हत्यामा संलग्न भनिएका पटेल पक्राउ

बिहिबार, २५ भदौ, २०७७
डिजिटल संस्करण
पत्रकार वीरेन्द्र साहका हत्यामा संलग्न भनिएका पटेल पक्राउ

हत्या आरोपी हरेराम पटेल

बाराका पत्रकार वीरन्द्र साहको हत्यामा संलग्न भनिएका अर्का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कोल्हबी नगरपालिका– ४ स्थित सपहीबाट प्रहरीले हत्या आरोपी हरेराम पटेललाई बिहीबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पँगेनीका अनुसार केही समयअघिदेखि कोल्हबी आसपासमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा खोज्दा उनी पक्राउ परेका हुन् । पत्रकार साहको हत्या भएको १३ वर्षपछि बारा प्रहरीले हत्यामा संलग्न भनिएका पाँचजनामध्ये चारजनालाई पक्राउ गरेको छ । पक्राउ परेका दुईजनालाई यसअघि नै अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला भइसकेको छ । 

गत २५ फागुनमा पक्राउ परेका कुन्दन फौजदारको हकमा समेत बारा प्रहरीले सर्वस्वसहित जन्मकैद माग दाबी गरी अदालत पेस गरेको छ । फौजदारको मुद्दा हाल मुल्तबीमा छ । 
बिहीबार पक्राउ परेका पटेललाई समेत सर्वस्वसहित जन्मकैदको माग दाबी गरी अदालत पेस गर्ने बारा प्रहरीले जनाएको छ । तत्कालीन माओवादीले १८ असोज ०६४ सालमा बाराका पत्रकार साहलाई अपहरण गरी हत्या गरी गाडेको अवस्थामा २२ कात्तिकमा टाँगिया बस्तीको जंगलमा शव फेला परेको थियो । 
 

सुझावित समाचार