हिंसापीडित व्यवस्थापनका लागि आएको रकम खर्च भएन

बिहिबार, २५ भदौ, २०७७
डिजिटल संस्करण

हिंसा पीडितका लागि पर्वत जिल्ला अस्पतालमा स्थापना गरिएको अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) को सेवा प्रभावकारी बन्न नसक्दा पाँच लाख रुपैयाँ बजेट फिर्ता भएको छ । 

गत आर्थिक वर्ष ०७६/७७ मा अस्पतालमा ओसिएमसी सेवा सञ्चालनका लागि गण्डकी प्रदेश सरकारबाट विनियोजित १२ लाख रुपैयाँमध्ये पाँच लाख रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको हो । अस्पतालले दिएको जानकारीअनुसार ६ लाख ९१ हजार रुपैयाँ मात्रै उक्त कार्यक्रम शीर्षकमा खर्च भएको छ । जसमध्ये हिंसापीडित व्यक्तिहरू सम्पर्कमा नआएका कारण रकम फिर्ता हुने कारण देखाउँदै अस्पतालले दुई लाख रुपैयाँबराबरको औषधि सोही रकमबाट खरिद गरेको छ ।  

जिल्लामा हिंसापीडित महिला तथा बालबालिका भए पनि पर्वत अस्पतालमा सञ्चालित ओसिएमसी सेवासम्बन्धी तल्लो स्तरसम्म जानकारी गराउन नसकेका कारण बजेट खर्च हुन नसकेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शिशिर देवकोटाले जानकारी दिए ।

‘हिंसापीडित महिला सेवा लिनका लागि अस्पताल आए पनि ओसिएमसीमा बस्न मान्दैनन्,’ उनका अनुसार हिंसामा परेका महिला तथा बालबालिकालाई जिल्ला अस्पतालमा नै अस्थायी रूपमा बस्नका लागि आवास कक्ष निर्माण गरिएको छ । कुनै घाउ–चोट लागेका सेवाग्राही छन् भने घाउ निको नहुञ्जेल आवासगृहमा बस्न पाउने र कानुनी उपचारका क्रममा समेत सोही आवासगृहमा बस्ने व्यवस्था रहेको छ । 

इन्सेक वर्ष पुस्तक २०२० मा उल्लेखित तथ्यांकअनुसार पर्वतमा गत वर्ष मात्रै बाल यौनदुर्व्यवहारबाट सातजना बालिका पीडित बनेका छन् भने बलात्कार घटनाबाट चार महिला र घरेलु हिंसाबाट १० जना महिला पीडित बनेका छन् । डाक्टर देवकोटाले विभिन्न माध्यमबाट ग्रामीण क्षेत्रका पीडित महिलासमक्ष पहुँच बढाउने प्रयास भइरहेको बताए । पर्वतमा गत आर्थिक वर्षमा १० जना सेवाग्राही उपचारका लागि भर्ना भए पनि केन्द्रबाट पाउने सेवा सुविधा उपभोग नगरेका हुन् । 

सुझावित समाचार