कोभिड–१९ का कारण खस्किएको नेपालको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन पाँच वर्ष लाग्ने सरोकारवालाहरूले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको एक कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।
कोरोनाले अब पर्यटन क्षेत्रको प्रवृत्ति परिवर्तन हुने भन्दै अब ठूलो संख्यामा पर्यटक आउने दशकको अन्त्य भएको नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले बताए । उनले भने, ‘अब मास टुरिजमको समय छैन । पर्यटकको स्वभावका आधारमा स्थान र सेवा दिन सकिएमा पर्यटक भित्र्याउन सकिन्छ ।’ पर्यटन क्षेत्रका लागि २०२० सबैभन्दा बढी नकारात्मक भएको भन्दै त्यसबाट माथि उठ्न पर्यटकका लागि के–कस्तो सेवा–सुविधा दिन सकिन्छ भन्ने निश्चित गर्नुपर्ने उनको भनाइ छ । नेपालमा पर्यटक भित्र्याउन ऐतिहासिक तथा नीतिगत व्यवस्था गर्न सकिनेमा श्रेष्ठले जोड दिए ।
सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । त्यसैलाई लक्षित गर्दै सरकारी तथा निजी क्षेत्रबाट गरेको लगानी जोखिममा परेको छ । त्यसैगरी, पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन समस्यामा पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्कन चार–पाँच वर्ष लाग्ने बताए । उनले भने, ‘०२४/२५ भन्दा यता पर्यटन क्षेत्रमा सुधार आउन सक्ने देखिन्न ।’
पर्यटक भित्र्याउन विमानस्थलको सम्पूर्ण व्यवस्थापन गर्न निजी क्षेत्र तयार रहेको उनको भनाइ छ । सम्पूर्ण अर्थतन्त्रमै ठूलो समस्या भएकाले सरकारको मुख मात्रै ताक्नुभन्दा व्यवसायीहरूले पनि आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्ने उनको सुझाब छ । त्यसका लागि कर्मचारीको तलब, बैंकको ऋण र घरभाडालगायतका खर्च कटौती गर्न पाउनुपर्ने उनले बताए । पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन खर्च कटौतीको विकल्प नभएको उनको भनाइ छ । पर्यटन क्षेत्रको उत्थानका लागि बजेटमार्फत ल्याएको प्याकेजलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए ।