सिराहामा कोरोना संक्रमणबाट दुईको निधन, निधन हुनेकाे संख्या दश पुग्यो

सोमबार, २२ भदौ, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणपछि उपचारको क्रममा सिराहाको गोलबजार र मिर्चैयाका एक–एकजना गरी दुईजनाको निधन भएको छ ।

स्वास्थ्य कार्यालय सिराहाका प्रमुख कृष्णदेव यादवका अनुसार कोरोना पुष्टि भएका मिर्चैया नगरपालिका– ५ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार राति जनकपुरस्थित प्रादेशिक अस्पतालमा निधन भएको हो । 

मधुमेह र निमोनियाका बिरामी रहेका मृतकको अवस्था आइतबार बिहान गम्भीर भएपछि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा सामान्य उपचार गरी जनकपुर रेफर गरिएपछि उपचारको क्रममा आइतबार राति निधन भएको मिर्चैया स्वास्थ्य शाखा प्रमुख सुरेशकुमार सिंहले बताए । 

प्रमुख सिंहका अनुसार गत शुक्रबार स्वाब संकलन गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । 

मृतकको परिवारका सदस्यहरूको पाँच दिनपछि स्वाब संकलन गरी पिसिआर परीक्षण गरिने र त्यतिञ्जेलसम्म अन्यसँग भेटघाट नगर्ने गरी होम क्वारेन्टिनमा बस्न भनिएको उनले बताए । 

त्यस्तै, गोलबजार नगरपालिका– ३ घर भएका क्षयरोगका बिरामी ७७ वर्षीय वृद्धको पनि उपचारको क्रममा काठमाडौंमा निधन भएको छ ।

गोलबजार स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत सरोजकुमार कर्णका अनुसार क्षयरोगी वृद्धलाई केही दिनदेखि ज्वरो आउने, पखाला लागेपछि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पुऱ्याएर १७ भदौमा कोरोना परीक्षणपछि उपचारका लागि भर्ना गरिएको थियो । 

कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि शिक्षण अस्पतालको कोरोना आइसोलेसनमा राखेर उपचारको क्रममा निधन भएको प्रमुख कर्णले जानकारी दिए । 

उपचारका लागि काठमाडौं जानुअघि सम्पर्कमा रहेका गाउँले र परिवारका सदस्य गरी ४० जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएकोमा मृतक परिवारका एकजना र छिमेकी गाउँका एकजना गरी दुईजनामा कोरोना पुष्टि भएको उनले बताए । 

गोलबजारका ७७ वर्षीय र मिर्चैयाका ६२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्युसँगै सिराहामा कोरोना संक्रमणले निधन हुनेको संख्या दश पुगेको छ ।

सुझावित समाचार