अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिसकेको छैन : प्रधानमन्त्री

लकडाउन खुकुलो बनाएर अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्रीलाई निजी क्षेत्रको आग्रह

सोमबार, २२ भदौ, २०७७
डिजिटल संस्करण
अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिसकेको छैन : प्रधानमन्त्री

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिनसकेको बताएका छन् । अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका ओलीले निजी क्षेत्रका प्रतिनिधिहरूसँग आइतबार छलफल गर्दै यस्तो बताएका हुन् ।

‘कोरोनाविरुद्धको लडाइँ साझा हो, यसमा सरकार कोरोनाको संक्रमण नियन्त्रण गर्न र अर्थतन्त्र विनाशमा जानबाट जोगाउन सन्तुलन कायम गरी अघि बढ्न प्रयत्नशील छ,’ प्रमको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिसकेको छैन ।’ 

छलफलमा उद्योगी–व्यवसायीले लामो समय उद्योग–व्यवसाय बन्द हुँदा उत्पादनदेखि आपूर्तिको चक्र नै भत्किएको तथा अर्थतन्त्र नै संकटमा पर्न लागेको बताएका थिए । तर, प्रधानमन्त्रीले भने यस विषयमा सरकार सचेत रहेको र अर्थतन्त्रलाई विनाशमा जान नदिन सरकार प्रयत्नशील रहेको बताए ।

अहिलेको परिस्थितिमा नागरिकको जीवन बचाउनु नै प्राथमिक कार्य रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारेका थिए । साथै, कोरोनाको विषयमा मनोवैज्ञानिक आतंक नफैलाई नागरिकको मनोबल बढाउनुपर्नेमा उनले जोड दिए ।

लकडाउन खुकुलो बनाएर अर्थतन्त्र चलाउन आग्रह

छलफलमा निजी क्षेत्रका प्रतिनिधिले लकडाउनलाई खुकुलो बनाएर अर्थतन्त्रलाई चलायमान बनाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए । कोभिड–१९ को एक मात्र समाधान लकडाउन नभएको आँैल्याउँदै उनीहरूले अर्थतन्त्रलाई चलाउने विकल्प खोज्न आग्रह गरेका हुन् ।

भेटमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले लकडाउन क्रमशः खुकुलो गर्दै अर्थतन्त्रलाई चलाउने नीति अवलम्बन गर्न प्रधानमन्त्रीलाई सुझाब दिएको बताइन् । त्यस्तै, बजेट तथा मौद्रिक नीतिले घोषणा गरेका छुट, सुविधालगायतका घोषणालाई प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएको उनले जानकारी दिइन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोना नियन्त्रण तथा रोकथामसँगै अर्थतन्त्रलाई खुकुलो बनाउनुपर्नेमा निजी क्षेत्रले जोड दिएको बताए । ‘कोरोना नियन्त्रणका अन्य विकल्प नखोजेर सधैँ उद्योग–व्यवसाय बन्द गरेर मात्रै अघि बढ्न सकिँदैन, लामो समयसम्मको लकडाउन र निषेधाज्ञाले उद्योग–व्यवसाय उठ्नै नसक्ने गरी थलिएका छन्,’ उनले भने, ‘अर्थतन्त्रलाई बन्धक बनाएर कोरोनासँग जुध्न सकिँदैन, त्यसैले अन्य सुरक्षाका मापदण्ड अपनाएर अर्थतन्त्रलाई खुकुलो बनाउनुपर्छ भनेर प्रधानमन्त्रीलाई सुझाब दियौँ ।’ त्यस्तै, कर तिर्नुपर्ने समय पर सार्नसमेत सुझाब दिएको उनले बताए । 

नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले औद्योगिक, व्यावसायिक अवस्था चिन्ताजनक अवस्थामा पुगेकाले यसको पुनरुत्थान गर्दै चलायमान बनाउन प्रधानमन्त्रीलाई सुझाब दिएको बताए । ‘कोभिड नियन्त्रण तथा रोकथामको एक मात्रै उपाय लकडाउन होइन, विकल्प अरू पनि छन्, त्यसैले लकडाउनलाई क्रमशः खोल्नुपर्छ र अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ,’ उनले भने, ‘उद्योग–व्यवसायमा पनि समस्या बढ्दै गए, सुक्दै गए, बजार बन्द हुन्छ, यसले गर्दा रोजगारी पनि बन्द गराउँछ अनि आर्थतन्त्र थप क्रिटिकल बन्न सक्छ ।’  

उक्त अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालगायत सहभागी थिए ।

सुझावित समाचार