हिमा गाउँपालिकाका २३ जना संक्रमित निको भएर घर फर्किए

शनिबार, २० भदौ, २०७७
डिजिटल संस्करण

जुम्लाको हिमा गाउँपालिकाका २३ जना कोरोना संक्रमित निको नभएर घर फर्किएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा संक्रमितको स्वाब पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि ६ महिला र १७ जना पुरुषसहित  २३ जना घर फर्किएका हुन् । 

गाउँपालिका अध्यक्ष रजबहादुर शाहीको अनुसार आइसोलेसनमा रहेका संक्रमितको भदौ १८ गते स्वाब संकलन गरी पुन: परीक्षण गर्दा शनिबार रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो । 

पिसिआर परीक्षणमा एकपटक ५१ जना कोरोना संक्रमित देखिएको हिमा गाउँपालिकामा निकै त्रासपूर्ण वातावरण सिर्जना भएको थियो । तर, अहिले संक्रमितहरू निको भएर घर फर्किने क्रम जारी रहेको अध्यक्ष शाहीले बताए । अब आइसोलेसनमा ६ जना मात्र संक्रमित रहेका छन् । 

जुम्लामा ६ महिनामा आठ हजार पाँच सय आठजनाको कोरोना पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएकोमध्ये दुई सय १२ जनालाई कोरोना संक्रमण देखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । उनले भने, ‘संक्रमितमध्ये एक सय ४८ जना निको भएर घर फर्किसकेका छन् । अहिले ६४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।’

सुझावित समाचार