कोरोना संक्रमण भई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी विराटनगरकी एक महिलाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका– ११ की ४३ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
तीन दिनदेखि श्वासप्रश्वासमा समस्या र पेट, छाती दुख्ने भएपछि उनलाई विराटनगरको न्युरो अस्पतालमा उपचार गरिएको थियो । उपचारको क्रममा कोरोना पुष्टि भएपछि उनलाई बिपी स्वास्थ्य प्रतिष्ठानमा ल्याइएको हो । उपचारको क्रममा शुक्रबार साँझ उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने कोरोना संक्रमितहरूको संख्या २२ पुगेको छ ।