बुधबार रातिको भारी वर्षासँगै ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा आएको बाढीका कारण ज्यान गुमाएका १४ मध्ये ६ जनाको अझै पहिचान खुल्न सकेको छैन । मृतक आठजनाको भने पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार बाढीका कारणले २४ जना अझै बेपत्ता छन् ।
ढोरपाटन सिकार आरक्षको देउरालीछेउको पहाड खसेर थुनिएको खोला फुटेपछि भुजीखोलामा आएको भीषण बाढीले ढोरपाटन नगरपालिका– ९, ८, ७ को तटीय क्षेत्रका ३१ घर बगाएको थियो ।
बाढीमा परेर ज्यान गुमाएका १४ जनाको शव भेटिएको थियो । जसमा ढोरपाटन नगरपालिका– ९ का २६ वर्षीया केशमाया विक, ४६ वर्षीय करबहादुर विक, २२ वर्षीय जीवन विक, ११ वर्षीया डल्ली विक, २१ वर्षीया डिलमाया पुन, ३५ वर्षीया रिनाकुमारी घर्ती, ३२ वर्षीया करमती बुढा र ३१ वर्षीय प्रेम पुनको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।
मृत अवस्थामा फेला परेका ६ जनाको अझै पहिचान खुलेको छैन । ‘शव क्षतविक्षत छन्,’ रेग्मीले भने, ‘केही शव पुलको लठ्ठाेमा अड्केको अवस्थामा फेला परेका छन् भने कुनै ढुंगाले च्यापिएको अवस्थामा, कतिपयको हात, खुट्टा नभएको र कतिपयको कम्मरभन्दा माथिल्लो भाग नै छैन ।’
बाढीले ३१ घर बगाएको थियो भने ७० भन्दा बढी घरमा क्षति पुऱ्याएको छ । बाढीमा परेका चारजनाको घाइते अवस्थामा उद्धार गरिएको छ । जसमध्ये गम्भीर अवस्था रहेका दुईजनाको बुर्तिबाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
बाढीले ढोरपाटन– ९ स्थित लाँकुरीबोटमा रहेको स्वास्थ्य चौकीको भवन, जनचेतना प्राविको चारकोठे भवन, सरस्वती प्राविको दुईकोठे भवन, भुजीखोला लघु जलविद्युत् आयोजनाको पाँचवटा शाखामध्ये चारवटा भवन, सडकछेउमा पार्किङ गरेर राखेको एउटा जिप पनि बगाएको थियो । शुक्रबार पनि दिनभर खोजी कार्य जारी राखिए पनि बेपत्ता पत्ता लाग्न नसकेको रेग्मीले बताए ।
शुक्रबार नै गृहमन्त्री रामबहादुर थापा बादल र सांसद देवेन्द्र पौडेलले बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

स्थलगत अनुगमनपछि गृहमन्त्री थापाले वर्षा रोखिएसँगै यस क्षेत्रको बस्ती निर्माणका लागि सरकारले पहल थाल्ने बताएका थिए ।