शुक्रबार कर्णालीमा २० जनामा कोरोना संक्रमण देखिएको छ ।
कर्णाली प्रदेशका चारवटा प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रष्तिठान जुम्ला र जिल्ला अस्पताल दैलेखमा गरिएको परीक्षणमा जुम्लाका १२ जना, सुर्खेतका तीनजना, दैलेखका तीनजना, दाङ र बर्दियाका एक–एकजनामा गरी २० जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाले जनाएको छ ।
कर्णालीका चारवटा प्रयोगशालामध्ये प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पाँच सय ३१, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एक सय एक, दैलेख अस्पताल दैलेखमा एक सय ४७ जना र चौरजहारी नगरपालिका प्रयोगशाला रुकुम पश्चिममा दुई सय ४६ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए ।
‘कर्णालीमा थप २० जनामा कोरोना संक्रमण देखिएको छ,’ उनले भने, ‘योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दुई हजार पाँच सय ८९ पुगेको छ ।’
कर्णालीमा शुक्रबार विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा रहेका ३८ जनामा कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको महाशाखाका प्रमुख शाहीले बताए । ‘डिस्चार्ज हुनेको संख्या दुई हजार दुई सय ३१ पुगेको छ,’ उनले भने, ‘हाल कोरोनाका सक्रिय संक्रमितको संख्या तीन सय ४४ रहेको छ ।’