प्रदेश १ बाट बिहीबार ६० जना कोरोना संक्रमित निको भएर उपचार केन्द्रबाट घर फर्किएका छन् । हालसम्म प्रदेश १ मा निको भएर घर फर्किनेकोे संख्या एक हजार सात सय ४७ जना पुगेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार मारवाडी सेवा सदन आइसोलेसन केन्द्र, विराटनगरबाट १८, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३, होम आइसोलेसनबाट ११, काली सदन आइसोेलेसन विराटनगरबाट सात, विराट मेडिकल आइसोलेसन केन्द्र बुढीगंगाबाट ६, रुम्जाटार आइसोलेसन केन्द्र ओखलढुंगाबाट दुई, धाइजन आइसोलेसन केन्द्र झापाबाट दुई र वैजनाथपुर आइसोलेसन केन्द्र विराटनगरबाट एकजना संक्रमित निको भएर घर फर्किएका हुन् ।
बिहीबार प्रदेश १ को मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा ६, धनकुटा र तेह्रथुममा दुई–दुई र प्रदेश १ बाहिरका एकजना संक्रमित थपिएका छन् । प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या तीन हजार ६ सय ८० पुगेको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा आज ३३ जनामा संक्रमण देखिएको छ । १३ महिला र २० पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । मोरङको सुन्दरहरैँचामा तीन पुरुष, लेटाङमा दुई महिला र एक पुरुष, कटहरीमा दुई पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा एक–एक पुरुष र बुढीगंगामा एक महिलामा संक्रमण देखिएको छ ।