मौसम खराबीका कारण राहत बोकेर गएको गृहमन्त्री सवार हेलिकाेप्टर फर्कियो

बिहिबार, १८ भदौ, २०७७
डिजिटल संस्करण

बाग्लुङको ढोरपाटनका बाढीपहिरोपीडितका लागि राहत लिएर गएको गृहमन्त्री सवार सेनाको हेलिकाेप्टर मौसम खराबका कारण पोखरा फर्किएको छ ।

गृहमन्त्रीसहित बाग्लुङका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल तथा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल सवार हेलिकाेप्टर राहत लिएर बाग्लुङको बाढी प्रभावित क्षेत्रमा गएको थियो । 

बाग्लुङको ढोरपाटनका बाढीपीडितका लागि राहत लिएर गएको हेलिकाेप्टर स्याङ्जा पुगेपछि मौसम खराब भएकाले पोखरा फर्किएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । उनका अनुसार मौसम अनुकूल भएपछि हेलिकाेप्टर पुनः राहत लिएर ढोरपाटन प्रस्थान गर्नेछ । हेलिकाेप्टरमा दैनिक उपभोग्य सामग्रीसहित तत्कालका लागि आवश्यक पर्ने त्रिपाल, टेन्ट, म्याटलगायतका राहत सामग्री रहेको जनाइएको छ । 

गएराति बाग्लुङको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा भीषण वर्षापछि विपतजन्य घटना भएको छ । यहाँको बाटो क्षतविक्षत भएर गाडीसमेत आवागमन हुन सकेको छैन । बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले गाडी जान नसकेपछि उद्धारका लागि पैदल नै घटनास्थलतर्फ थप टोली गइरहेको राससलाई बताए । प्रहरी र सेनाको टोलीले अहिले उद्धार कार्य जारी राखेका छन् ।

न्यौपानेले प्रारम्भिक विवरणमा बाढीबाट ३६ जना हराएकामा ११ जनाको शव प्राप्त भएको छ । नगरपालिकाको चारवटा वडामा बढी क्षति भएको उनले जानकारी दिए । 

सुझावित समाचार