ताप्लेजुङमा नयाँ उत्पादित अलैँची प्रतिमन (प्रति ४० किलो) २१ हजारका दर बिक्री हुन थालेको छ ।
यो मूल्य अपेक्षा गरेभन्दा केही कम रहेको किसानले जनाएका छन् ।
एक साता अघिदेखि स्थानीय बजारमा बिक्रीका लागि आउन थालेको अलैँचीको मूल्य सुरुमा २२ हजार प्रतिमन बिक्री भएको थियो । त्यसको एक दुई दिनमा प्रतिमन एक हजार घटेर २१ हजारमा कारोबार भइरहेको किसानले जनाएका छन् ।
सुरुमा २२ हजार प्रतिमन कारोबार भएको भए पनि त्यसपछि एक हजारले घटेर प्रतिमन २१ हजार रुपैयाँका दरले कारोबार भइरहेको फुङलिङ बजारका व्यवसायी भद्रवीर रेग्मीले बताए ।
बजारमा निस्कन थाल्दादेखि नै मूल्य ओरालो लागेकाले अलैँचीको मूल्यमा अझ गिरावट आउने हो कि भन्नेमा किसान चिन्तित रहेको उनले बताए ।
यस्तै फुङलिङ बजारका अर्का व्यवसायी दिनेश अधिकारीले अलैँचीको मूल्य प्रतिमन २१–२२ हजार रुपैयाँ सन्तोषजनक मूल्य नभएको बताए ।
उनले हालको मूल्यले किसानको श्रमसहित लगानी धान्नलाई धौधौ पर्ने र व्यवसायीको अलैँची व्यापार नाफा आर्जन गर्ने खालको नहुने बताए । उनले यस वर्ष कोभिड– १९ ले गर्दा पनि अलैँचीको मूल्य धेरै राम्रो आउने सम्भावना नरहेको बताए ।
कुनै वेला अलैँची प्रतिमन एक लाख २० हजार रुपैयाँसम्ममा कारोबार भएपछि किसानहरूले धान खेत मासेरसमेत अलैँची खेती गरेका थिए ।