विराटनगर बरगाछीका स्थायी बासिन्दा गोपालप्रसाद रेग्मी नेपाल सरकारका कर्मचारी हुन् । हाल मोरङको सुन्दरहरैँचा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत उनी पत्नी गीतासँगै कोरोना पोजेटिभ भए ।
तर, उनीहरू दुवैले हरेस खाएनन् । दुवै चाँडै निको हुने आत्मविश्वास लिएर होम आइसोलेसनमा बसे । आफन्त र कोरोना जित्ने परिवारसँग सल्लाह लिए ।
तातोपानी पिउने, बाफ लिने र टन्न पौष्टिक खाना खाए । नभन्दै १४ दिनभित्रै उनीहरू निको भए । हाल उनीहरू दुवैजना आ–आफनो कर्मक्षेत्रमा लागेका छन् ।
हाल असक्त कोरोना बिरामीलाई प्लाज्मा दिने घोषणा गर्दै आफ्नो रक्त समूह र फोन नम्बरसहित सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
कोरोना जित्न सफल दम्पती गोपाल र गीता भन्छन्, ‘कोरोना भनेको सामान्य रहेछ, त्रासको मानसिक दबाबमा पटक्कै पर्नुहुँदैन, हँसिलो–खुसिलो भएर टन्न तातो खाना खाएर सजिलै जित्न सकिनेहरेछ ।’
त्यस्तै, विशाल घिमिरे वनविज्ञ हुन् । जिल्ला वन डिभिजन कार्यालय मोरङमा प्रमुख वन अधिकृत (डिएफओ ) पदमा कार्यरत उनीसँगै पत्नी अन्जुलाई पनि कोरोना पोजेटिभ देखियो ।
तर, उनीहरू त्रासको दबाबमा परेर हतास भएनन् । बरु आफ्नै घरमा सतर्कतापूर्वक आइसोलेसनमा बसे । नियमित योग र व्यायम गरे ।
तातो वाफ लिने र सन्तुलित खाना खाने काम गरे । आइसोलेसनमा बसेका वेला आफ्नो दिनचर्या प्रायः फेसबुकमार्फत सार्वजनिक गरिरहेका डिएफओ विशाल कोरोनालाई जित्नुको कारण आयुर्वेदिक औषधि, सन्तुलित खाना अनि घरेलु मरमसलाको सेवन मुख्य मान्छन् ।
उनी र पत्नी अन्जुले आइसोलेसनमा बस्दा बिहान कागतीपानी खाने, गुर्जाे, तुलसीको पत्ता र बेसारको तातो तीतो जुस पिउने अनि घरेलु मसलायुक्त पोखिलो खाना खाएका थिए ।
निको भएर हाल क्वारेन्टिनमा बसिरहेका उनीहरूले आममानिसलाई कोरोना संक्रमण भएमा नआत्तिन र सामान्य मानेर सतर्कता अपनाउन आग्रह गर्ने गरेका छन् ।

डिएफओ विशालले आफूहरूले आइसोलेसनमा बस्दा के–के गऱ्याैँ र के के खाऔँ भनेर सबै सामाजिक सञ्जालमा सार्वजनिक पनि गरिदिएका छन् । उनीहरूको पनि चाहना सिकिस्त बिरामीलाई प्लाज्मा दिएर बचाउने छ ।
आयुर्वेदिक औषधिले पर्याप्त काम गर्ने भएकाले यसको उपचार पद्धतिलाई संरक्षण गर्नुपर्ने र हरेक नेपालीलाई आ–आफ्नो घरमा जडीबुटी रोप्न उनी सुझाब दिन्छन् ।
उनी भन्छन्, ‘घरबारीमै रहेछ कोरोनाको उपचार, तातो, तीतो अनि मसला र बेसार ।’
कुसुम श्रेष्ठ प्रदेश नम्बर १ सभाकी सांसद हुन् । कोरोना संक्रमणमा निरन्तर सेवामा सक्रिय उनी र उनीका श्रीमान् नयन श्रेष्ठ कोरोना पोजेटिभ भए । घर धनकुटा भए पनि उनीहरू सुनसरीको इटहरीमा बस्दै आएका थिए ।
कामको सिलसिलामा काठमाडाैं पुगेर फर्कँदा उनीहरूमा कोरोना संक्रमण देखियो । खेलाडी पृष्ठभूमिका उनीहरू कोरोना सल्क्यो भनेर अलिकति पनि विचलित भएनन् ।
बरु दुवैले आफ्ना साथीभाइ र शुभच्छेकहरूलाई आफूहरू संक्रमित भएको जानकारी दिँदै सतर्क रहन आग्रह गरे । दुवैजना होम आइसोलेसनमा बसे । व्यायाम गरे । सतर्कता साथ परिवारसँग बसेर टिभी हेरे, खाना खाए, रमाए ।

अहिले दुवैजना ठीक भइसकेका छन् । उनीहरूसमक्ष कोरोनाले लक्षण नै देखाउन सकेन । निको भएका सांसद श्रेष्ठ र उसु खेलका प्रशिक्षक पति नयन पनि महामारीमा सक्दो सघाउन चाहन्छन् । परे प्लाज्मा पनि दिन चाहन्छन् ।
सांसद श्रेष्ठ अब कोरोना महामारी नियन्त्रणमा झन् सक्रिय भएर सेवामा लागिपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘धेरै संक्रमित र उनीहरूको परिवारलाई समाजले घृणा गरिरहेको छ, अब म कोरोना संक्रमितहरूको घरघरमा पुगेर सकारात्मक धारण बनाउने अभियानसहित सकेको आवश्यक सहयोग गर्नेछु ।’
चूडामाणि आचार्य प्रदेश १ सरकारका मुख्य न्यायाधिवक्ता हुन् । उनी र उनकी पत्नी मीना र छोरा साहस आचार्य एकैचोटि संक्रमणमा परे । तर, कोरोना संक्रमित भयौँ भनेर उनीहरू कोही पनि आत्तिएनन् ।
बरु सतर्क भएर होम आइसोलेसनमा बसे । साथीभाइ र शुभेच्छक अनि आफन्तहरूको सान्त्वना ग्रहण गरिरहे । नियमित डाक्टरको सल्लाहअनुसार कार्य गरे । तातोपानी खाए । सन्तुलित भोजन गरे ।

प्रविधिको उपयोग गरेर दैनिक कामकाजमा तल्लीन भइरहे । हाल उनीहरू सबै कोरोनामुक्त भएर दैनिक कामकाजमा फर्किसकेका छन् । कोरोनामुक्त भएपछि आफन्त मात्र नभएर समाजले उनीहरूलाई फूलमालाले स्वागत गऱ्याे ।
आत्मविश्वास भएमा कोरोना सजिलै परास्त गर्न सकिने उनीहरूको बुझाइ छ । अहिले मुख्य न्यायाधिवक्ता आचार्य साथीभाइ र आफन्तलाई मात्र हाेइन आमसञ्चारमाध्यममार्फत कोरोना भयो भने आत्तिनुहुँदैन, सहजै जित्न सकिन्छ भनेर आफ्ना अनुभूतिहरू बाँडिरहेका छन् ।
उनी भन्दै छन्, ‘आत्मबल भए कोरोना सहजै जित्न सकिने रहेछ ।’