१० कैदीबन्दीसहित जुम्लामा थपिए ३९ कोरोना संक्रमित

बुधबार, १७ भदौ, २०७७
डिजिटल संस्करण
१० कैदीबन्दीसहित जुम्लामा थपिए ३९ कोरोना संक्रमित

फाइल तस्बिर

जुम्लामा पछिल्लो समय कोरोना मिटर बढ्दो अवस्थामा छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा गरिएकाे  परीक्षणमा थप ३९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।   

जिल्लाका विभिन्न स्थानीय तहमा स्वाब संकलन गरी परीक्षण गर्ने क्रममा चन्दननाथ नगरपालिकामा १६ जना, जिल्ला कारागारका १० जना कैदीबन्दीमा र नेपाल विद्युत् प्राधिकरण जुम्लामा कार्यरत चारजना कर्मचारीमा कोरोना संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले बताए । 

त्यसैगरी तिला गाउँपालिकामा दुईजना, तातोपानी गाउँपालिकामा दुईजना, सिञ्जा गाउँपालिकाका एकजना, पातारासी गाउँपालिकाका एकजना, कनकासुन्दरी गाउँपालिका एकजना, पेस नेपालका एकजना कर्मचारी र कृषि कार्यालयका एकजना गरी ३९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै जुम्लामा कोरोना संक्रमितको संख्या ८८ पुगेको छ । 

३२ जना डिस्चार्ज 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसनमा रहेका ११ र हिमा गाउँपालिकाको आइसोलेसनमा रहेका २१ जना गरी ३२ जना संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै जुम्लामा कोरोना संक्रमण निको हुनेको संख्या एक सय ४१ पुगेको छ । 

संक्रमितलाई पुन: परीक्षण गरिएन  

स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई पुन: परीक्षण नै नगरी घर पठाउने गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा रहेको नौजना संक्रमितलाई पुन: परीक्षण नै नगरी १४ दिनपछि घर पठाइएको हो । 

१४ दिनपछि आइसोलेसनबाट घर पठाइएका व्यक्तिले पुन: परीक्षण नै नगरी एक प्रमाणपत्र हातमा थमाएर घर पठाएको गुनासो गरेका छन् । चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पिसिआर परीक्षण गर्नुपर्दैन भनेर निर्देशिका दिएपछि उनीहरूलाई परीक्षण नगरी घर पठाएको प्रतिक्रिया दिइन् । 

सुझावित समाचार