विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रतिनिधि डा. जोस भ्यान्डेलर पाँच वर्षदेखि नेपालमा छन् र यतिवेला कोभिड–१९ को महामारीका कारण उनको व्यस्तता थपिएको छ । नेपाल सरकार र डब्लुएचओ हेडक्वार्टरबीच समन्वय गर्ने, सरकारलाई कोभिड नियन्त्रण र रोकथामबारे निरन्तर सल्लाह दिने मात्र नभएर जनचेतना जगाउन पनि उनी र उनीमातहतको टिमको भूमिका बढेको छ । संसारको स्वास्थ्य प्रणाली, खोप पत्ता लगाउन भइरहेको प्रयासदेखि कोरोनासँग जुधिरहेको विश्वको प्रयासको सापेक्षतामा नेपालको अवस्थाबारे डा. जोससँग नयाँ पत्रिकाका पर्शुराम काफ्लेले गरेको संवादको सम्पादित अंश :
विश्वभर कोभिड–१९ बाट अढाई करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् र साढे आठ लाखभन्दा बढीको ज्यान गएको छ । संक्रमण र मृत्युदर बढ्दै छ । यो विषम परिस्थितिको कहिले र कसरी अन्त्य होला ?
भविष्यको पूर्वानुमान गर्नु निकै कठिन हो । यो वर्षको सुरुमा थोरै मात्र व्यक्ति संक्रमित थिए । तर, संक्रमित व्यक्ति र मृत्युको संख्यामा गत दुई महिनामा ठूलो वृद्धि भएको छ । यो महामारी चीनबाट सुरु भएर युरोप र अमेरिकी महादेशमा फैलियो । अझै पनि अमेरिका, दक्षिणपूर्वी तथा दक्षिण एसियालगायतमा संक्रमित व्यक्तिहरूको संख्या बढिरहेकै छ । अहिलेसम्म ज्यादा प्रभावित नभएका अफ्रिकाजस्ता महादेशहरू भविष्यमा बढी प्रभावित हुनेछन् या छैनन्, हामी किटेर भन्न सक्दैनौँ । तर, यी महादेशका अधिकतम मानिसमा यो रोगविरुद्धको प्रतिरोध क्षमता विकास नभएमा भविष्यमा अफ्रिकामा पनि यो भाइरस व्यापक रूपमा फैलिने उच्च जोखिम छ भन्ने मलाई लाग्छ ।
यो भाइरस अनन्तकालका लागि वा कम्तीमा थप केही वर्षसम्म पर्यावरणमा रहिरहनेछ भन्ने अनुमान लगाउन सकिन्छ । विश्वभर संक्रमित व्यक्तिको संख्या अझै थपिँदै जानेछ र त्यसपछि संख्या घट्दै जानेछ भन्ने अनुमान पनि लगाउन सकिन्छ । तर, सुरक्षित र प्रभावकारी औषधि वा खोपले यो क्रमलाई भंग गर्न सक्छ । भ्याक्सिनको काम भनेको रोगप्रतिरोध क्षमता नभएका व्यक्तिमा प्रतिरोध क्षमता सिर्जना गर्नु हो । संक्षिप्तमा भन्नुपर्दा कोभिड–१९ अझै धेरै समय हामीबीच रहने र यसले थप व्यक्तिलाई संक्रमित गर्दै जाने सम्भावना छ । अहिलेसम्म संक्रमण धेरै नफैलिएका क्षेत्रमा पनि यो फैलिने सम्भावना छ । तर, प्रभावकारी खोपले यो रोग फैलिने क्रमलाई रोक्न मद्दत गर्न सक्छ । हामीले अटुट रूपमा सुरक्षा उपाय तथा सावधानी अपनायौँ भने पनि यो क्रमलाई धेरै हदसम्म भंग गर्न सकिन्छ । प्रभावकारी औषधि पत्ता लागेमा पनि यो दिशामा प्रगति हुन सक्छ ।
कोभिड–१९ को नियन्त्रणका लागि विश्वभरका सरकारहरूले लकडाउनलगायतका विभिन्न कदम चालेका छन् । अहिलेसम्मको अवस्था हेर्दा तपाईं कुन उपायलाई अधिक प्रभावकारी देख्नुहुन्छ ?
सबैभन्दा प्रभावकारी तरिका भनेको एक–अर्काबाट टाढा रहनु, भौतिक दूरी कायम राख्नु, मास्क लगाउनु, हातको सरसफाइ गर्नु इत्यादि नै हुन् । तर, मानिसले यी व्यवहार स्वतः पालन नगर्ने हुनाले सरकारले कदम चाल्नुपर्छ । नेपालका सन्दर्भमा सरकारले दुईवटा कदम चालेको छ । पहिलो कदम– राष्ट्रिय र स्थानीय तहमा बन्दाबन्दी लागू गर्नु । बन्दाबन्दीले व्यक्ति–व्यक्तिबीच भौतिक दूरी कायम राख्न मद्दत गर्दछ । दोस्रो कदम– भारतबाट फर्केर आएका व्यक्तिलाई क्वारेन्टाइन गर्नु । यसले संक्रमणको शंका भएका व्यक्तिलाई अरूबाट टाढा रहन मद्दत गर्छ । यी उपाय प्रभावकारी साबित भएका छन् । क्वारेन्टाइनको बखत हामीले स्वदेश फिर्ता आउने मानिसको समूहबाहिर भाइरस बृहत् रूपमा फैलिएको पाएका छैनौँ ।
विश्व स्वास्थ्य संगठनले जिएभिआईजस्ता साझेदारहरूसँग मिलेर कम आय भएका देशहरूलाई अत्यन्त कम शुल्कमा खोप किन्न वा सम्भव भएमा निःशुल्कसमेत प्राप्त गर्न सघाउने संयन्त्र निर्माण गर्ने दिशामा काम गरिरहेको छ ।
कोभिड–१९ करिब ३ करोड जनसंख्या भएको देश नेपालमा द्रुत गतिमा फैलँदै छ । नेपालले सुरुमा राष्ट्रव्यापी लकडाउन लागू गर्यो । अब अहिले विभिन्न प्रदेशमा निषेधाज्ञा जारी गरिएको छ । के यी कदम नेपालका लागि सही छन् या नेपालले अरू केही गर्नुपर्ने हो ? यसबारे तपाईंका सुझाब के होलान् ?
यो एउटा नयाँ रोग हो । लकडाउनलगायतका उपायलाई म सही वा गलत भनेर वर्गीकरण गर्ने पक्षमा छैन । महामारीको स्थितिमा आउने परिवर्तनहरूसँगै हामी यसको बारेमा अझ बढी बुझ्दै जानेछौँ र भाइरसको नियन्त्रणका लागि अपनाइनुपर्ने उपायहरू समायोजन गर्दै जानेछौँ । नेपालमा बन्दाबन्दी, निषेधाज्ञा इत्यादिले शारीरिक दूरी कायम राख्नु, मास्क लगाउनुजस्ता केही व्यवहारलाई लागू तथा प्रवद्र्धन गरिरहेको छ । यदि सबैले स्वतस्फूर्त रूपमा यी व्यवहारको पालना गर्ने हो भने यी बन्दाबन्दी वा निषेधाज्ञा आवश्यक छैनन् । तर, मानिसले यिनको पालना नगरेमा सरकारले कदम चाल्नैपर्छ । वास्तवमा यो एकदम कठिन निर्णय हो ।
बन्दाबन्दी लागू गरेर भाइरसको विस्तारलाई सुस्त पार्न त सकिन्छ, तर यसले आर्थिक र सामाजिक दुष्प्रभाव पनि सिर्जना गर्छ । कुनै कामविना घरमा यसै बस्न कसैलाई पनि मन लाग्दैन । सबैलाई आयआर्जन गर्नुपर्ने हुन्छ । बन्दाबन्दीले रोगको विस्तारलाई सुस्त त बनाउँछ, तर साथै यसले मानिसलाई आर्थिक र सामाजिक पीडा पनि दिन्छ । यी पक्षहरूलाई सन्तुलनमा राख्न गाह्रो छ र मलाई लाग्छ, संसारभरका सरकार यसै कुरासँग संघर्ष गर्दै छन् । विश्वभरका देशहरूले कुनै न कुनै प्रकारको बन्दाबन्दी लागू गरेका छन् । तर, यिनले बन्दाबन्दीलाई कतिको कडाइका साथ र कति समयका लागि लागू गरेका छन् भन्ने कुरा देशअनुसार फरक पाइन्छ । हरेक देशले भाइरस नियन्त्रण र आर्थिक प्रभावबीच सही सन्तुलन राख्ने विधि आफैँँ निर्धारण गर्दछ ।
नेपालमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेका प्रयासलाई कसरी लिनुभएको छ ? आगामी दिनमा नेपालको परिस्थिति अझै खराब हुँदै जाला वा बिस्तारै सामान्य अवस्थामा फर्किएला ?
हाल (अगस्टको अन्त्य)सम्मको तथ्यांकले नेपालमा संक्रमित व्यक्तिको संख्या बढ्दै गरेको देखाउँछ र यो पूर्णतया अपेक्षित नै थियो । प्रायः देशमा संक्रमितको संख्या बढिरहेको नै पाइन्छ । यो भाइरस नयाँ भएको र कसैमा पनि यसविरुद्धको प्रतिरोध क्षमता नभएको हुनाले यस्तो भएको हो । यदि मानिसमा प्रतिरोध क्षमता विकास भएमा वा मानिसले भौतिक दूरी कायम राखेर भाइरसलाई कतै सर्ने ठाउँ नभएमा भाइरस सुस्त हुँदै जानेछ । यस भाइरसविरुद्ध नेपालीमा कुनै विशेष प्रतिरोध क्षमता छैन र मानिसले पर्याप्त दूरी कायम राख्ने गरेको पनि पाइँदैन । त्यसैले संक्रमित व्यक्तिको संख्या बढिरहेको छ र यो वृद्धि केही समयका लागि जारी रहनेछ ।
अबको दुई साताभित्र कति संक्रमित व्यक्ति थपिनेछन् वा यो सिलसिला कति समयका लागि चल्नेछ भन्ने यकिन गर्नु कठिन छ । यसमा निषेधाज्ञा र अन्य कदमको प्रभावकारिताले पनि असर गर्न सक्छ । मलाई लाग्छ, सांक्रमित व्यक्तिको संख्या केही समयका लागि बढ्नेछ । त्यसपछि कुनै बिन्दुमा पुगेर त्यसपछि केही समयका लागि स्थिर रहनेछ । र, केही समयलाई कम हुनेछ । तर, अधिकांश मानिसमा यस रोगविरुद्ध प्रतिरोध क्षमता नभएमा र मानिसले एक–आपसमा शारीरिक दूरी कायम नराखेमा भाइरस फेरि फर्किनेछ र फैलिन थाल्नेछ ।
तपाईंले मलाई अब परिस्थिति सामान्य हुन्छ कि झन् बिग्रिनेछ भनेर सोध्नुभएको छ । यो विषय तपाईंले केलाई सामान्य भन्नुहुन्छ भन्ने कुरामा निर्भर हुन्छ । मलाई लाग्छ, वर्तमान परिस्थितिमा संसारका कुनै पनि स्थानमा परिस्थिति सामान्यतर्फ फर्किनेवाला छैन । हामीले दूरी कायम गरेर, मास्क लगाएर र हात धोएर बाँच्न सिक्नुपर्छ, केही समयका लागि । भाइरसलाई नियन्त्रण वा रोगको प्रभावकारी उपचार गर्ने माध्यम सर्वसुलभ नभएसम्म यी कुरा हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा हुनेवाला छन् ।
त्यसपछि भने मानिसले केही हदसम्म लचिलो भएर भाइरसको जोखिम मोल्न तयार हुन पनि सक्नेछन् । त्यो अर्कै कुरा भयो, तर हामीले के कुरा याद गर्नुपर्छ भने यो भाइरसबाट थोरै मात्र मानिस संक्रमित हुन्छन् । कुल जनसंख्याको दुई प्रतिशतभन्दा कमको परीक्षण पोजेटिभ आउने गरेको छ । र, तीमध्ये ८० प्रतिशतमा अत्यन्तै हल्का लक्षण मात्र देखिन्छन् । भाइरसको अत्यन्तै तीव्र प्रकोप भएको खण्डमा समेत नेपालको तीन करोड कुल जनसंख्यामध्ये थोरै मात्र अर्थात १० लाखभन्दा कम मानिस बिरामी पर्नेछन् ।
अर्को सन्दर्भमा जान चाहन्छु । २१औँ शताब्दीमा चिकित्साविज्ञानले धेरै नै प्रगति गरेको छ भनिन्छ । तर, आज चिकित्साविज्ञानलाई कोभिड–१९ ले पराजित गरेकोजस्तो देखिन्छ । यसमा तपाईंको भनाइ के छ ?
यो कुरालाई विजय र पराजयको तुलामा राखेर हेर्न मिल्छ जस्तो मलाई लाग्दैन । विज्ञान निरन्तर प्रगतिशील छ । विज्ञानको उद्देश्य आफ्नो पक्षको विजय वा अरू कुनै पक्षको पराजय होइन । विज्ञानले हामीलाई हाम्रा जीवनका विविध पक्षमा सुधार ल्याउन र हामीलाई दीर्घ जीवन दिन मद्दत गर्दछ । ‘यो भाइरसले विज्ञानलाई पराजित गरेको छ’ भन्नु आफैँमा एउटा अनौठो अभिव्यक्ति हो । विगत शताब्दीमा विज्ञानले धेरै प्रगति गरेको छ र धेरै कुरा पत्ता लगाएको छ, जसमध्ये अधिकतरले मानव जातिलाई फाइदा नै पुर्याएका छन् भन्ने मलाई लाग्छ । तर, धेरै अभूतपूर्व प्रक्रिया र कुराहरू पनि थपिँदै छन् । यो भाइरस पनि एउटा नौलो कुरा हो । विज्ञानले यस्ता नयाँ कुरालाई समेट्न, बुझ्न र तीबारे प्रतिक्रिया दिनका लागि केही समय लिन सक्छ ।
मानौँ भोलि आकाशबाट उल्का पिण्डहरू कतै खसे भने अहिलेका प्रविधि तुरुन्त कदम चाल्न सक्षम नहुन सक्छन् । तर, त्यसो भयो भन्दैमा ‘उल्का पिण्डले विज्ञानलाई पराजित गर्यो है !’ भन्नचाहिँ मिल्दैन । पहिलेका सफलताहरूको जगमा विज्ञान निरन्तर अगाडि बढिरहेकै छ । अभूतपूर्व आयाम थपिँदै जान्छन् र विज्ञान नयाँ मार्गहरू खोज्दै अगाडि बढ्दै नै जान्छ । यसले केही समय भने पक्कै लिन्छ । हामीले यस भाइरसविरूद्ध खोप वा प्रभावकारी औषधि पत्ता लगायौँ भने एकपटक फेरि पनि विज्ञानले नै हामीलाई सुरक्षा दिएको हुनेछ र यसले निरन्तर हाम्रो जीवनस्तरमा सुधार ल्याउँदै हामीलाई दीर्घकालसम्म बाँच्न मद्दत गर्नेछ।
नेपालका आयुर्वेद चिकित्सकहरूले कोभिड–१९ लाई सामान्य भाइरसको रूपमा परिभाषित गरिरहेका छन् । उनीहरूले विश्वका शक्तिशाली देशहरूलाई आफूहरूबीचको शक्तिसंघर्षका क्रममा गरिब देशहरूलाई आतंकित पार्दै आफ्ना स्वार्थ सिद्ध गर्न यस समस्यालाई बढाइचढाइ गरेको आरोप लगाएका छन् । आयुर्वेदले कोभिड–१९ संकट समाधान गर्न सक्छ भन्ने उनीहरूको दाबी छ । विश्व स्वास्थ्य संगठनले आयुर्वेदलाई किन प्रोत्साहित गरिरहेको छैन ?
आयुर्वेदिक औषधिद्वारा कोभिड–१९ को सफल उपचारका लागि पर्याप्त वैज्ञानिक प्रमाणहरू जुटाउन सकिए तिनले अवश्य सक्रिय भूमिका खेल्न सक्नेछन् भनेर विश्व स्वास्थ्य संगठनले स्पष्ट भनेको छ । त्यसैले म आयुर्वेद समुदायलाई कोभिड–१९ को उपचार र वैज्ञानिक प्रमाणीकरणका दिशामा के गर्न सकिन्छ भन्नेबारे आवश्यक अनुसन्धान गर्न प्रोत्साहित गर्छु । निश्चय पनि केही आयुर्वेदिक उपचार प्रभावकारी हुन सक्छन् । तर, जनमानस र वैज्ञानिक समुदायलाई विश्वस्त पार्न र ती उपचारलाई मूलधारमा ल्याउनका लागि तिनीहरूको प्रभावकारिता सुनिश्चित गरिनुपर्छ । अफवाह र भनाइहरूमा मात्र विश्वास गर्न सकिँदैन ।
पश्चिमी औषधिहरूलाई सर्वसुलभ गरिनुअघि तिनको परीक्षणका लागि कठोर विधिहरू प्रयोग गरिन्छ र तिनको विकासका लागि वर्षौं लाग्छ । तिनको प्रभावकारिता, दुष्प्रभाव इत्यादि सुनिश्चित गरेपछि मात्र तिनलाई सार्वजनिक प्रयोगका लागि स्वीकृत गरिन्छ । यस्तै प्रक्रिया आयुर्वेदिक औषधिहरूका लागि पनि प्रयोग गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले आयुर्वेदिक औषधिको प्रभावकारिता पुष्टि भएमा तिनको प्रयोग गरिनुपर्छ भनेर आधिकारिक रूपमै भनेको छ । तर, मलाई लाग्छ, यस क्षेत्रमा हुनुपर्ने आवश्यक अनुसन्धान हुन अझै बाँकी नै छ ।

हाल चीन, रसिया र बेलायतलगायतका देशहरूले कोभिड–१९ का विभिन्न खोपको परीक्षण गरिरहेका छन् । विश्व स्वास्थ्य संगठनले यस्ता प्रयासलाई कसरी प्रोत्साहित गरिरहेको छ ?
हो, विश्वभरका देशहरूले भ्याक्सिनको परीक्षण गर्दै छन् । खोपहरू विकासका विभिन्न चरणमा छन् । तिनीहरूमध्ये केही परीक्षणको अन्तिम चरणमा छन् भने केही अझै सुरुको चरणमा छन् । यीमध्ये कुन भ्याक्सिनले काम गर्नेछ, कुन सुरक्षित हुनेछ, कुन भ्याक्सिनका साइड–इफेक्ट कम हुनेछन्, कति डोज आवश्यक पर्नेछ, कति तापक्रममा राख्नुपर्नेछ इत्यादि हामीलाई अझै थाहा छैन ।
विश्व स्वास्थ्य संगठनले यस दिशामा के गर्दै छ भन्नेबारे केही गलत धारणा जनमानसमा व्याप्त छ । हाल विश्व स्वास्थ्य संगठनले खोपको परीक्षण गरिरहेको छैन । सायद भविष्यमा यो संगठनले त्यो कार्य पनि सुरु गर्ला । विश्व स्वास्थ्य संगठनले समग्र निगरानी भने गरिरहेको छ, ताकि ती खोपले आवश्यक मानक तथा मापदण्ड पूरा गरिरहेका छन् या छैनन् भन्ने निश्चित गर्न सकियोस् र विश्वभरका मानिसले खोप विकासको प्रक्रियाबारे जानकारी प्राप्त गर्न सकियोस् । खोपको तयारी र तिनको परीक्षणमा संलग्न विभिन्न प्रविधिबारे वैज्ञानिक, विश्वविद्यालय र निर्माताहरूले काम गरिरहेका छन् ।
मलाई लाग्छ, तत्कालै संसारको कुनै पनि स्थानमा परिस्थिति सामान्यतर्फ फर्किनेवाला छैन । हामीले दूरी कायम गरेर, मास्क लगाएर र हात धोएर बाँच्न सिक्नुपर्छ, केही समयका लागि ।
तर, विश्व स्वास्थ्य संगठनले उनीहरूको प्रगतिको निगरानी भने गरिरहेको छ । विश्व स्वास्थ्य संगठनले यी खोपको वितरण कसरी गर्ने, प्रत्येक व्यक्तिलाई खोप कसरी दिलाउने र यी खोपका लागि लागत कसरी जुटाउने भन्ने विषयमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ । यी खोप धेरै महँगो भएमा नेपालजस्ता गरिब राष्ट्रहरूलाई खरिद गर्न समस्या हुन सक्छ । त्यसैले विश्व स्वास्थ्य संगठनले जिएभिआईजस्ता साझेदारहरूसँग मिलेर कम आय भएका देशहरूलाई अत्यन्त कम शुल्कमा खोप किन्न वा सम्भव भएमा निःशुल्कसमेत प्राप्त गर्न सघाउने संयन्त्र निर्माण गर्ने दिशामा काम गरिरहेको छ । फेरि दोहो¥याउँदै छु, विश्ववभर सबैले यी खोपमा पहुँच राख्न सक्नुपर्दछ । समान पहुँच र सस्ता खोप, यिनै कुरामा विश्व स्वास्थ्य संगठनले आफ्नो ध्यान केन्द्रित गरिरहेको छ ।
तपाईं र विश्व स्वास्थ्य संगठनको रायमा के नेपालजस्ता विकासशील राष्ट्रहरूले सहुलियत दरमा कोभिड–१९ खोप पाउन सक्लान् ?
यसका लागि एउटा संयन्त्रको निर्माण हुँदै छ । तर, यो संयन्त्रमा अझै पूर्ण रूपमा लगानी गरिएको छैन र यो पूर्ण रूपमा विकसित भइसकेको पनि छैन । तर, यस संयन्त्रअन्तर्गत धनी राष्ट्रहरूले खोपका लागि धेरै रकम तिर्नुपर्नेछ, तर गरिब राष्ट्रहरूले भने धनी राष्ट्रहरूको आंशिक लगानीमार्फत सहुलियत दरमा खोप प्राप्त गर्नेछन् । बालबालिकाका लागि खोप, रोटाभाइरस खोप आदिका लागि जिएभिआईले निर्धारण गरेको यस्तै संयन्त्र पहिलेदेखि नेपालमा पनि परिचालित छ । यो रोगको खोपको लागतसम्बन्धी एउटा प्रभावकारी संयन्त्र निर्माण गर्नका लागि जिएभिआईको प्रयोग भइरहेको छ । यो संयन्त्रको उद्देश्य खोपको निर्धारित बजार मूल्य चुकाउन नसक्ने राष्ट्रहरूलाई भारी सहुलियत दरमा खोप खरिद गर्न सक्षम बनाउनु हो ।
कोभिड–१९ को प्रसंगमा नेपालमा विश्व स्वास्थ्य संगठनले के गरिरहेको छ ? विश्व स्वास्थ्य संगठनले नेपाल सरकारसँग कसरी र कुन(कुन क्षेत्रमा सहकार्य गरिरहेको छ ?
नेपालमा विश्व स्वास्थ्य संगठनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग प्राविधिक सल्लाहकारको रूपमा निकट सम्बन्ध राखेर काम गरिरहेको छ । हाम्रा धेरै कर्मचारी विभिन्न क्षेत्रमा दैनिक रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग काम गरिरहेका छन् । उदहारणका लागि, आवश्यक व्यक्तिगत सुरक्षा उपकरणको संख्या, भेन्टिलेटरको संख्या इत्यादि आकलन र हिसाब गर्न पनि हाम्रा कर्मचारी खटिएका छन् । यी गणना र पूर्वानुमानहरूले सरकारलाई सामान तथा उपकरणहरू अर्डर गर्न मद्दत गर्छन् । हाम्रा कर्मचारीले तथ्यांक विश्लेषणका लागि पनि मद्दत गर्छन् । तथ्यांक सामान्यतया सरकारी कर्मचारीले नै संकलन गर्छन् । हामीचाहिँ संकलित तथ्यांकको विश्लेषणमा संलग्न रहेर भाइरस कहाँ बढी फैलिएको छ, कहाँ कम फैलिएको छ, कुन उमेरसमूह ज्यादा प्रभावित छ आदि बुझ्न मद्दत गर्छौं । हामीले सञ्चार क्षेत्रमा पनि सहयोग पुर्याइरहेका छौँ । त्यस्तैगरी, हामी प्रयोगशालाहरूको क्षमता सुदृढीकरण गर्दै छौँ र तिनका परीक्षणका नतिजाको गुणस्तर विश्वसनीय भएको सुनिश्चित गर्दै छौँ । राष्ट्रिय स्तरमा हामी सरकारलाई भाइरसको बारेमा अध्यावधिक गरिएको जानकारी र अन्य देशमा भइरहेका कुराको जानकारी प्रदान गर्ने थुप्रै रणनीतिक र नीतिगत छलफलमा भाग लिइरहेका छौँ, ताकि नेपालले सही दिशामा निर्णय लिन सकोस् । त्यस्तै, हाम्रा प्रतिनिधिसहितका बृहत् टोली प्रत्येक प्रदेशमा खटिएका छन् । यी सबै तहमा हामीले मुख्यतया सल्लाहकारको भूमिका निर्वाह गरिरहेका छौँ । हामीले केही उपकरण र सामग्री खरिद त गरेका छौँ, तर त्यो हाम्रो मुख्य भूमिका होइन । हाम्रो मुख्य भूमिका प्राविधिक सहयोग हो । हामी निर्णय लिने गर्दैनौँ । त्यो काम सरकारको हो । हामी बिरामीहरूको उपचार गर्दैनौँ, तर उपचारको कार्यनीतिबारे सल्लाह दिन सक्छौँ र प्रशिक्षणको क्षेत्रमा पनि मद्दत गर्न सक्छौँ । हामी सरकारहरूको पछाडि बसेर काम गर्ने गर्छौं । सरकारलाई सही निर्णय लिन मद्दत गर्नका लागि हामी निरन्तर पछाडि बसेर आफ्ना जिम्मेवारी निभाइरहेका छौँ ।
कोभिड–१९ ले विश्व स्वास्थ्य प्रणालीको कुरूप पक्षको पर्दाफास गरेको छ । कोभिड महामारीपछिको स्वास्थ्य प्रणाली कस्तो हुनुपर्छ ? नेपालजस्ता विकासशील देशहरूका स्वास्थ्य प्रणालीमा के–कस्ता सुधार ल्याउनुपर्ला ?
स्वास्थ्य प्रणाली भनेको मानिसलाई स्वास्थ्य सेवा दिनका लागि खडा गरिएको प्रणाली हो । अस्पताल, स्वास्थ्य चौकी, त्यहाँका उपकरण, त्यहाँ कार्यरत स्वास्थ्यकर्मी सबै यसै प्रणालीका अंश हुन् । यसले खोप र परिवार नियोजनजस्ता पक्षहरूलाई पनि समावेश गर्छ । तर, स्वास्थ्य प्रणाली भनेको मानिस बिरामी पर्दा उपचार गर्नका लागि मात्र होइन । नेपालमा विगतमा चलाइएका धेरै जनस्वास्थ्य कार्यक्रम सफल भएको पाइन्छ । यहाँको खोप कार्यक्रम निकै राम्रो छ । त्यस्तै, परिवार नियोजन अभियानले पनि निकै प्रगति गरेको छ । बाल मृत्युदर र मातृ मृत्युदर घटेको छ । धेरै उपलब्धि हासिल गरिएको छ । तर, अझै पनि धेरै कुरा गर्न बाँकी नै छन् ।
तपाईंले ‘विश्व स्वास्थ्य प्रणालीको कुरूप अनुहार’ उल्लेख गर्नुभयो । मलाई लाग्छ, त्यसको अर्थ भाइरसले अत्यन्तै तीव्र गतिमा स्वास्थ्य प्रणालीलाई थाम्न नसक्ने भार दिएको भन्ने हो । विश्वभरका स्वास्थ्य प्रणाली यसका लागि तयार थिएनन् र तिनले बिरामीको संख्या सम्हाल्न सकेका थिएनन् । निःसन्देह, कुनै पनि स्वास्थ्य प्रणालीको परिचालन निश्चित दिन, महिना वा वर्षमा आउने रोगी वा व्यक्तिहरूको अनुमानित संख्यामा आधारित हुन्छ र ती अनुमानित संख्या विगतका अनुभवमा आधारित हुन्छन् । तर, कोभिड–१९ जस्ता ठूला महामारी फैलिएको खण्डमा तिनको प्रतिकार्यमा प्रभावकारी रूपमा खट्नका लागि यी प्रणालीको क्षमता पर्याप्त हुँदैन । नेपालमा मात्र होइन, विश्वभर नै यस्तै हुन्छ । अहिले स्वास्थ्यकर्मी र स्वास्थ्य सुविधाहरूमा थाम्न सक्नेभन्दा बढी भार परेको छ । त्यसैले उनीहरू भाइरसको विस्तारलाई सुस्त पार्न चाहन्छन् ।
अब हामी नेपालजस्ता देशहरूको स्वास्थ्य प्रणालीमा के–कस्ता सुधार गर्न सकिन्छ भन्नेबारे कुरा गरौँ । विश्व स्वास्थ्य संगठनले सर्वसुलभ स्वास्थ्य सेवा अथवा स्वास्थ्य सेवामा सबैको पहुँचलाई प्रवर्द्धन गरिरहेको छ । यसका तीन मापदण्ड छन् । पहिलो मापदण्ड पहुँच हो, दोस्रो गुणस्तर हो र तेस्रो किफायत होे । यसको अर्थ तपाईंलाई स्वास्थ्य सेवा चाहिएको खण्डमा वा तपाईंलाई खोप, इत्यादि चाहिएको खण्डमा तपाईंले प्राप्त गर्ने सेवालाई यिनै तीन मापदण्डअनुसार जाँच्न सक्नुहुनेछ ।
कोभिड–१९ अझै धेरै समय हामीबीच रहने र यसले थप व्यक्तिलाई संक्रमित गर्दै जाने सम्भावना छ । अहिलेसम्म संक्रमण धेरै नफैलिएका क्षेत्रमा पनि यो फैलिने सम्भावना छ । तर, प्रभावकारी खोपले यो रोग फैलिने क्रमलाई रोक्न मद्दत गर्न सक्छ ।
कोभिड–१९ ले हाम्रो स्वास्थ्य प्रणालीमा रहेका कमीकमजोरीहरू औँल्याइदिएको छ । यी प्रणालीमा सुधार आई मानिसलाई उनीहरूले तिर्न सक्ने मूल्यमा गुणस्तरीय सेवा लिने बानी परेको खण्डमा कोभिडजस्ता महामारी फेरि दोहोरिएमा अवस्थित प्रणालीले फेरि पनि सबैले पहुँच राख्न सक्ने गुणस्तरीय सेवा प्रदान गर्न सक्नेछ । तपाईंले यी तीन मापदण्ड पूरा गर्ने दिशामा काम गर्नुभएमा तपाईंको स्वास्थ्य सेवा प्रणाली धेरै बलियो र राम्रो हुनेछ ।
धेरै अन्य रोगले कोभिड–१९ भन्दा धेरै मानिसको ज्यान लिँदै छन् । तर, संसारले यो तथ्यलाई किन बेवास्ता गरिरहेको छ र सबैजना किन कोभिड–१९ कै पछि लागिरहेका छन् ?
धेरै राम्रो प्रश्न गर्नुभयो । यसको संक्षिप्त उत्तर भनेको ‘अनजान कुरासँगको डर’ हो । यो भाइरस कुनै जनावरबाट मानिसमा सर्यो र मानिसबाट मानिसमा सर्न थाल्यो । यो भाइरस ती जनावरहरूका शरीरमा सम्भवतः धेरै समयदेखि अस्तित्वमा थियो । तर, भाइरसको आनुवंशिक संरचनामा केही परिवर्तन आयो र त्यसपछि त्यसले मानिसलाई संक्रमण गर्न थाल्यो । हामी यो प्रक्रियालाई ‘म्युटेसन’ भन्छौँ । भाइरसले त्यस्ता म्युटेसन फेरि गर्दै थप शक्तिशाली हुन सक्ने र त्यसपछि बालबालिकासमेतलाई तीव्र रूपमा संक्रमित गर्न सक्नेजस्ता सम्भावनासम्बन्धी अनिश्चिततालाई लिएर मानिसमा भय व्याप्त छ । विगत ६ महिनामा हामीले यस भाइरसको बारेमा धेरै कुरा बुझ्न पाएका छौँ ।
अहिले हामी यो कसरी फैलिन्छ भन्ने जान्दछौँ । हामी यसका लागि कुन औषधि प्रभावकारी हुन सक्छ भन्ने कुरा बुझ्ने क्रममा छौँ र खोपहरू पनि विकासको क्रममा छन् । हामीले यसबारे बुझ्ने क्रम जारी राखेमा अन्योलले जन्माएको डरमा कमी आउँदै जानेछ भन्ने मलाई आशा छ । हो, अन्य केही रोगले यो भाइरसले भन्दा धेरै मानिस मारिरहेका छन् । मैले अघि भनेझैँ यो रोगबाट कुल जनसंख्याको अनुपातमा अत्यन्तै थोरै व्यक्ति संक्रमित हुन्छन् र संक्रमितको कुल अनुपातमा पनि अत्यन्तै थोरै व्यक्ति गम्भीर रूपमा बिरामी परेर मर्छन् । यस अर्थमा यो डराउनुपर्ने कुरा होइन । तथ्यांकगत रूपमा भन्नुपर्दा कोभिड–१९ का कारण तपाईंको मृत्यु हुने सम्भावना न्यून छ र अन्य रोगको कारण तपाईंको मृत्यु हुने सम्भावना बढी छ । तर, मानव दिमागमा अचेतन डर सजिलै पस्न सक्छ ।
साथै, कोभिड–१९ का प्रभावहरूमध्ये एउटा प्रभावबारे हामीले अहिलेसम्म कुरा गरेका छैनौँ– सबै पक्षहरू कोभिड–१९ मा केन्द्रित भएकाले अवस्थित स्वास्थ्य प्रणालीले अन्य रोगहरूको सम्बन्धमा उचित प्रतिकार्य र साधारण सेवा सुचारु गर्न सकिरहेको छैन । अस्पतालका कर्मचारीले उपचार गर्न नमान्दा गर्भवती महिला प्रसव वेदनाका कारण अस्पतालबाहिरै मरेका कथा हामीले सुनेका छौँ । औषधि किन्ने प्रक्रियामा आएका बाधाका कारण उच्च रक्तचाप वा मधुमेह भएका व्यक्तिले अत्यावश्यक औषधि सेवन गर्न छोडेको हामीले सुनेका छौँ ।
मिर्गौलाका गम्भीर रोगीको डायलाइसिस हुन नसकेको पनि हामीले सुनेका छौँ । यस्ता कुराले पनि कोभिड–१९ बाहेकका अरू कारणले गर्दा मर्ने मानिसको संख्यालाई बढाउँछ । कोभिड–१९ आज ठूलो चिन्ताको विषय भए तापनि मानिसहरू अझै पनि शिशुहरू त जन्माउँछन् नै, अझै पनि खोप त आवश्यक छ नै, अझै पनि अन्य रोगका औषधि त आवश्यक छन् नै । त्यसैले हरेक देशमा नियमित स्वास्थ्य सेवा जारी रहनु अपरिहार्य छ ।
मेरो विचारमा तपाईं(हामी कोभिड–१९ को बारे चिन्तित रहेकै ठीक हो, तर यसलाई लिएर आत्तिनु पर्दैन । यसबारे बिल्कुलै चिन्तित नभएमा हामी आफ्ना पुरानै बानी–व्यवहार अनुसरण गर्न थाल्नेछौँ । तर, हामीमा यसबारे चिन्ता भएमा हामीले आवश्यक सावधानी तथा उपायहरू (भौतिक दूरी कायम राख्नु, मास्क लगाउनु, हात धुनु आदि)को अनुसरण जारी नै राख्नेछौँ । त्यसो भन्दैमा तपाईंको घरमा बस्ने मानिसको कोभिड परीक्षण पोजेटिभ आएमा उनीहरूलाई घरबाट लखेट्नु पक्कै आवश्यक छैन । मानिसलाई भरपुर मद्दत गर्न कोसिस गरिरहेका चिकित्सक र नर्सलाई पनि लखेट्नु पर्दैन । ती सेवाकर्मी आफ्नै स्वास्थ्य र जीवनलाई जोखिममा पारेर खटिइरहेका छन् । उनीहरूलाई ‘तिमीहरू मेरो ठाउँमा नआऊ’ भनेर दुत्कार्नु अर्थहीन डरको पराकाष्ठा हो ।