मध्यावधि चुनावको पूर्वसन्ध्यामा ट्रम्पको समर्थन दर ओरालो लाग्दै

बुधबार, १८ कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • मध्यावधि चुनावमा राष्ट्रपतिको पार्टीले हार्ने परम्परा रहेको बताउँदै ट्रम्पले भने, ‘कुनै कारणले बहालवाला राष्ट्रपतिले मध्यावधि चुनाव जित्दैनन् । तथापि, हामीले चुनावमा आफूले सक्नेजति प्रयास गरेका छौँ ।’

रोयटर्स/ इप्सोसले गरेको एक सर्वेक्षणमा सहभागीमध्ये करिब ३२ प्रतिशतले मात्र ट्रम्पको राष्ट्रपतीय कार्यशैलीलाई समर्थन जनाएका छन् । 

उता सर्वेक्षणमा सहभागीमाझ ट्रम्पको रिपब्लिकन पार्टी पनि उत्तिकै अलोकप्रिय देखिएको छ । डेमोक्य्राट वा रिपब्लिकन उम्मेद्वारमध्ये कसलाई भोट दिनुहुन्छ भनेर सोधिएको प्रश्नमा ४६ प्रतिशतले डेमोक्य्राटलाई रोजेका थिए भने ३८ प्रतिशतले रिपब्लिकनलाई प्राथमिकता दिए ।

ट्रम्प आफैँ चुनावी मैदानमा छैनन्, तर उनले समर्थकलाई मत दिँदा ट्रम्पलाई मत दिएको सम्झेर हाल्न आग्रह गरेका छन् । रिपब्लिकन पार्टीले अमेरिकी कंग्रेसमा बहुमत गुमाएमा डेमोक्य्राटहरूले उनीविरुद्ध तेस्रोपटक महाभियोग लगाउने प्रयास गर्ने पनि समर्थकलाई सम्झाएका छन् ।  सर्वेक्षणअनुसार विशेषगरी फेब्रुअरी २८ मा इरानविरुद्ध अमेरिका–इजरायलले ‘युद्ध’ सुरु भएपछि ट्रम्पको समर्थन दर घट्दै गएको छ । इरान युद्धले पेट्रोल र डिजेलको मूल्य बढाएको छ, जसले मुद्रास्फीति र अर्थतन्त्रलाई लिएर चिन्तित अमेरिकी उपभोक्तामा थप नकारात्मक प्रभाव पारेको छ । 

मंगलबारको मध्यावधि चुनावअघि राष्ट्रपति ट्रम्पले रिपब्लिकन उम्मेदवारहरूको समर्थन बढाउन करिब एक महिना लामो सघन चुनावी अभियान चलाएका थिए, यी उम्मेदवारहरू अमेरिकी तल्लो सदन र सिनेटमा आफ्नो बहुमत जोगाउने प्रयास गरिरहेका छन् ।

सोमबार ट्रम्पले अप्रत्यक्ष रूपमा उनको चुनावी अभियानले आफ्नो पार्टीका लागि अपेक्षित नतिजा नल्याउन सक्ने स्विकारे । मध्यावधि चुनावमा यो एक आमपरम्परा रहेको बताउँदै ट्रम्पले भने, ‘कुनै कारणवश बहालवाला राष्ट्रपतिले मध्यावधि चुनाव जित्दैनन् । तथापि, हामीले चुनावमा आफूले सक्नेजति निकै जोडदार प्रयास गरेका छौँ ।’

सुझावित समाचार