- गाउँ फर्किएका लेखकहरू भन्छन्– एकान्तमा माटोसँग खेलिरहेका छौँ, रुखबिरुवासँग गफिइरहेका छौँ
सहरको बौद्धिक बहस र लेखनको संसारबाट गाउँ फर्किएका केही लेखक अहिले माटोसँग खेलिरहेका छन् । उनीहरूका लागि खेतीपाती जीविकोपार्जनको माध्यम मात्र नभएर समाज, अर्थतन्त्र, राजनीति र प्रकृतिलाई नजिकबाट बुझ्ने अभ्यास बनेको छ । कसैले गाउँको शान्ति खोजेका छन्, कसैले आफ्नो जीवनशैली बदल्न चाहेका छन् त कसैले कृषि र ग्रामीण अर्थतन्त्रका सम्भावना आफैँले परीक्षण गरिरहेका छन् ।
बिहानको झुल्के घामसँगै पत्रपत्रिका पढ्ने, रेडियो सुन्ने, अनलाइन समाचार हेर्ने र देश, विदेशका घटनाक्रमबारे जानकारी लिने हातहरू अहिले माटोसँग व्यस्त छन् । सहरको कोलाहल, कंक्रिटका संरचना र व्यस्त जीवनशैली छाडेर उनीहरू अचेल एकान्तमा माटोसँग खेलिरहेका छन्, रुखविरुवासँग गफिरहेका छन् ।
कुनै समय पुस्तकका पानामा समाज खोज्ने, राजनीतिक घटनाक्रमको विश्लेषण गर्ने र समाजशास्त्र, अर्थशास्त्रका जटिलता केलाउने उनीहरू अहिले खेतीपातीका व्यावहारिक प्रश्नसँग जुधिरहेका छन् । उनीहरू आफैँलाई सोधिरहेका छन्– खेतमा कुन बाली लगाउने, सिँचाइ कसरी जुटाउने, उत्पादन कसरी जोगाउने, बजार कहाँ खोज्ने, गाउँबाट मानिस किन पलायन भइरहेका छन् ?
लेख्ने कर्मबाट गाउँ बुझ्ने कर्मतर्फ
विद्यार्थी राजनीतिबाट उदाएका पूर्वसांसद तथा अर्थशास्त्री डा. हरि रोका कोरोना महामारीका बेला काठमाडौंको भिडभाड छोडेर खोटाङ फर्किए । वामपन्थी राजनीति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध र अर्थतन्त्रका विषयमा कलम चलाइरहेका उनी प्रतिनिधिसभा र अन्तरिम संसद्का सदस्यसमेत बने । पछिल्लो समय उनी आफ्नो पुर्ख्यौली थलो खोटाङ फर्किएर खेतीपातीमा व्यस्त छन् ।
कोरोनाका वेला सहरको साँघुरो बसाइ, संक्रमणको जोखिम र रोजगारीविहीन अवस्थामा काठमाडौंमा बसिरहनुको औचित्यमाथि उनले प्रश्न गरे । यसैवेला पुस्तक लेख्ने योजना पनि फुर्यो । गाउँमा शान्त वातावरणमा बसेर पढ्न र लेख्न सकिने सम्भावना देखेपछि उनी पटक–पटक गाउँ आउजाउ गर्न थाले । त्यसक्रममा गाउँमै बसेर जीवन चलाउन सकिन्छ भन्ने विश्वास बढ्दै गयो र अन्ततः उनी पुर्ख्यौली थलो फर्किए ।
तर उनले देखे, भोगेजस्तो गाउँ थिएन । करिब चार दशकतिरै उनको गाउँमा ९२ घर संख्या पुगिसकेको थियो । अहिले त्यो संख्या घटेर नौ भएको छ । आउने वर्ष त्यही नौ घरमध्ये चार घर बसाइँ हिँड्दै छ । उनको टोलमा उनको घर मात्र बाँकी छ ।
‘छरछिमेक नहुँदा अप्ठ्यारो अनुभव भएको छ । सामाजिक प्राणी भएकाले मान्छेलाई बातचित गर्नुपर्छ । छलफल गर्नुपर्छ । एैँचोपैँचो गर्नुपर्छ । सरसापट माग्नुपर्छ । पर्म गर्नुपर्छ । यो क्रम कम हुँदै छ,’ उनी भन्छन्, ‘गाउँको जुन खालको बसाइँसराइ भइरहेको छ । त्यसले गाउँ रित्तो बन्दै छ । बसेका मान्छेलाई पनि बस्न गाह्रो भइरहेको छ । जंगली जनावर बाँदर, दुम्सी, बाघ, मृगजस्ता वन्यजन्तुको जगजगी बढेको छ । उत्पादन गरिएको बाली जोगाउन पनि गाह्रो भएको छ ।’
रोकाको गाउँमा समस्या थुप्रै छन् । तैपनि, उनले परम्परागत प्रणालीबाटै खेती गरिरहेका छन् । यो साल पनि उनले मकै थन्क्याइसके । कोदो पाक्दै छ । हिउँदे तरकारी रोपेका छन् । अहिले बारीमा अम्बा पाकेको छ । फर्सी, केरा खाने वेला भएको छ । हलुवावेदको बिरुवा सारेका छन् । अर्को सालदेखि केही फलफूल पनि उत्पादन हुनेछन् । गोडमेल गरेको धान पसाउन थालेको छ । ठुलो पानी परेन भने राम्रै फल्छ भन्ने उनलाई विश्वास छ ।
रोकाले धान, मकै, कोदो, फलफूल, तरकारी उत्पादन गरे पनि लुगाफाटो, मरमसला, औषधिउपचार, आवातजावतका लागि खर्च गाउँबाट भरथेग हुन्न । तर, उनका लागि गाउँले जीवन रमाइलो तरिकाले बित्दै छ । ‘बस्नका लागि आनन्द छ । कुनै झन्झट छैन । प्रद्षूण छैन । नाक पोल्ने, आँखा पोल्ने बिमारी भएको छैन । अरू बिरामी पनि लागेको छैन । यही आनन्दले नै गाउँमा टिकाइरहेको छ,’ उनी भन्छन् । गाउँ फर्किए पनि उनको काठमाडौंमा बस्दा लेख्ने, पढ्ने, अनुसन्धान गर्ने काम छुटेको छैन । लेखपढ गरेपछि छलफल, बहस गर्ने कामचाहिँ उनलाई छुटेको लाग्छ । प्रविधिको क्षेत्रमा भएको विकासले उनको गाउँसम्मै इन्टरनेट उपलब्ध छ । समाजशास्त्र, अर्थशास्त्र र राजनीतिशास्त्रका केही पुस्तकको पुस्तकालय पनि खडा गरेका छन् । गाउँमै अध्ययन गर्न, लेख्नका लागि कुनै समस्या छैन । त्यसैले, उनलाई गाउँमा दुःख भएजस्तो लागेको छैन । बरु सहरमा बसेर सोच्ने गाउँ र गाउँ नै फर्किएपछि ग्रामीण अर्थतन्त्रबारे सोच्ने सोचाइमा भने तात्विक भिन्नता आएको छ ।
‘खेती कसरी गरिन्छ ? खेती गर्नका लागि हाम्रा कस्ता कठिनाइ छन् ? सिँचाइ कसरी उपलब्ध हुन सक्छ ? हाम्रो बजार के हो ? बजारलाई कसरी व्यवस्थित गर्नुपर्छ ? बजारलाई कसरी व्यवस्थित गरिने रहेछ ? बसाइँ किन हिँड्नुपर्ने अवस्था आयो ? हाम्रो ग्रामीण अर्थतन्त्रलाई सक्रिय बनाउन गर्नुपर्ने काम केके हुन् ? भन्नेबारे आफू नै बसेर, संलग्न भएर धेरै कुरा बुझ्ने अवसर पाएँ,’ उनी भन्छन्, ‘यो अवसर काठमाडौं बसेर प्राप्त गर्न सकिँदैन थियो । मैले अरूलाई भन्दा पनि काल्पनिक कुरा गर्नुपर्थ्यो । अनुमानको भरमा कुराकानी गर्नुपर्थ्यो । तर, अहिले मैले यथार्थमा आधारित अनुभूति गर्न पाएको छु ।’
समाचारको भिडबाट खानाको संसारसम्म
करिब तीन दशक पत्रकारिता र लेखनमा बिताएका पत्रकार तथा लेखक केदार शर्माको गाउँ फर्किने यात्रा जीवनशैली परिवर्तनको खोजीसँग जोडिएको छ । बिबिसीको जागिर छाडेपछि उनले ०६९ सालतिर इलाममा नयाँ जीवन सुरु गर्ने प्रयास गरे । काठमाडौंको भागदौडबाट बाहिर निस्कने र फरक ढंगले जीवन बिताउने उनको चाहना थियो । सोहीअनुसार उनी गाउँ फर्किए । इलाम फर्केपछि सुरुमा उनले रेस्टुरेन्ट र गाई फार्म सञ्चालन गरे । दुवै प्रयास करिब डेढ वर्षमै असफल भयो । त्यसपछि श्रीमती किरण शर्माको पाककलाले नयाँ बाटो खोल्यो ।
घरमा डेनिस स्वयंसेवक तथा अन्य पाहुना आउन थाले । छोराछोरी विदेश पढ्न गएपछि केही शिथिल बनेको घरको पाककलासम्बन्धी गतिविधि फेरि सक्रिय भयो । साथीभाइले पनि खाना पकाउन र अरूलाई प्रेमपूर्वक खुवाउन रुचाउने उनीहरूका लागि यही काम उपयुक्त हुने सुझाव दिए । अन्ततः उनीहरूले होमस्टे सञ्चालन गर्ने निर्णय गरे ।
यो निर्णयसँगै खाना उनीहरूका लागि आम्दानीको माध्यम मात्रै रहेन, नेपाली समाजको विविधता, स्थानीय पहिचान, आतिथ्य संस्कार र खानाको सांस्कृतिक अर्थ बुझ्ने माध्यम पनि बन्यो । लामो समय पत्रकारिता गरेका र लेखन कर्ममा बिताएका उनी बस्ने क्षेत्रमा रेडियो, टिभी खासै हेर्दैनन् । उनीसम्म पत्रपत्रिका पनि पुग्दैन । तर, उनलाई यसले कुनै फरक पारेको छैन । उनलाई लाग्छ, ‘रेडियो–टिभी नहुँदा हामीलाई कहिल्यै केही भुलेको जस्तो भएन । बरु सूचनाको ओभरलोडबाट बच्यौँ भन्ने लाग्छ । सूचनाको उपभोग भनेको कुनै खाना महोत्सवमा गएर भेटेजति सबै खाना खाएजस्तै हो ।’
काठमाडौंमा अधिकारकर्मीका रूपमा समेत सक्रिय भएका उनी माइतीघर मण्डलामा हुने विभिन्न गतिविधिमा सहभागी हुन्थे । साथीझाइ, अन्तर्त्रिया र सार्वजनिक बहस उनको जीवनका महत्वपूर्ण हिस्सा थिए । गाउँ आएपछि त्यस्तो सामाजिक सम्पर्क केही खड्किए पनि सूचना र समाचारको निरन्तर उपभोगबाट टाढा रहँदा जीवनमा खासै अभाव महसुस नभएको उनी बताउँछन् । ‘गाउँको जवन यति सजिलो हुन्छ, आफन्त, भेटघाट, नातागोता जस्तो सामाजिकीकरणको प्रक्रियाले कुनै पनि कुरालाई अभाव हुन दिँदैन,’ उनी भन्छन् ।
शर्माको लेखन पनि पछिल्लो समय खानातिरै केन्द्रित भएको छ । उनी भन्छन्, ‘कोभिडपछि मेरो लेखन एकदमै कम भएको छ । दश वर्षजति भयो, खानाकै बारेमा सोच्ने गरेको छु । किताब नै लेख्दा पनि खानाकै बारेमा लेख्ने, खानाकै राजनीति, खानाकै दर्शनबारे सोच्ने भएको छु ।’ उनको अनुभवले गाउँ फर्कनु भनेको सहरका सबै सम्बन्ध र सम्भावना त्याग्नु मात्र होइन भन्ने देखाएको छ ।
माटोबाट समाज बुझ्ने प्रयास
पत्रकार तथा लेखक नारायण वाग्लेको तनहुँ फर्किने निर्णय प्रकृति, परिवार र कृषिसँगको पुरानो सम्बन्धबाट प्रेरित छ । गाउँमा जन्मिएर त्यही हुर्किएका उनले किशोरवय गाई चराउँदै, गाउँघर र वनपाखामा बिताए । काठमाडौंमा बसेर पत्रकारिता गर्दा पनि उनको मन गाउँतिर पुगिरह्यो । बाआमाको श्रम र सिपले सिञ्चित खेतबारीको सम्झनाले उनलाई गाउँ फर्किन प्रेरित गर्यो । ‘कहाँ जाने त ? गाउँमै जन्मेँ, गाउँमै हुर्कें । गाई चराउँदै गाउँघर, वनपाखामा किशोरवय बिताएँ,’ उनी भन्छन्, ‘काठमाडौंमा रहँदा पनि खेतबारी, बोटबिरुवा र यामअनुसारका विभिन्न वासनाको सम्झना आइरहन्थ्यो । बाआमाको पौरख र प्रतिभाले सिञ्चित खेतबारी सम्झिएर गाउँ फर्किएँ ।’
उनको कृषि रोजाइ भावनात्मक स्मृतिमा सीमित छैन, उनी खेतीपातीलाई आफ्नो जीवन निर्वाहसँगै समाज, राज्य, नीति र अर्थतन्त्र बुझ्ने माध्यमका रूपमा लिन्छन् । ‘आफैँले उब्जाएर खान, परिवारलाई खुवाउन र उब्रेको हितचिन्तकलाई चखाउन कृषि नै गर्ने भएँ,’ उनी भन्छन्, ‘कृषि हाम्रो मुख्य जीवनाधार भए पनि यो किन यतिसारो त्याज्य बन्न पुग्यो भन्ने बुझ्न, यसका प्रश्नहरू पर्गेल्न, आफैँ परीक्षण गर्न र हाम्रो राज्य, समाज, नीति तथा मनोविज्ञानबारे अध्ययन गर्न र लेखपढ गर्न मैले कृषिमै आफ्नो सम्भावना पाएँ ।’
नेपालको मुख्य जीवनधार मानिएको कृषि नै किन कम आकर्षक बन्दै गएको छ ? खेती गर्ने मानिसले आफ्नो श्रमको उचित मूल्य किन पाउँदैन ? कृषि र ग्रामीण जीवनप्रति समाजमा नकारात्मक धारणा कसरी विकास भयो ? यी प्रश्न वाग्लेका लागि लेखनका विषय मात्रै होइनन्, आफ्नै जीवनमा परीक्षण गर्नुपर्ने विषय हुन् ।
माटो, पशुपक्षी र बोटबिरुवासँग प्रत्यक्ष जोडिँदा मानिसले प्रकृतिसँगको सम्बन्धलाई फरक ढंगले बुझ्न सक्ने उनको अनुभव छ । खेतीपातीले श्रम, लगन, धैर्य र सहिष्णुताको महत्व सिकाउँछ । मानिस र प्रकृतिबिचको सहअस्तित्वलाई व्यवहारमै अनुभव गर्ने अवसर दिन्छ ।
वाग्लेले अहिले खेतबारीमा धन फलाएका छन् । विभिन्न फल फलाएका छन् । रैथाने गाई पालेका छन् । हाँसकुखुरा पालेका छन् । त्यसैले वाग्लेका लागि किसान हुनु भनेको उत्पादन गर्ने व्यक्तिको भूमिकामा सीमित हुनु होइन, आफूले खाने खाना कहाँबाट आउँछ, त्यसका लागि कति श्रम लाग्छ र त्यसको उत्पादन प्रक्रियामा प्रकृतिको भूमिका के हुन्छ भन्ने बुझ्नु पनि हो ।
‘माटो, पशुपक्षी र बोटबिरुवासँगै खेल्न र तिनलाई बुझ्न थालेपछि कोही किन गाउँमै नटिकोस् ? प्रकृतिसँग सबैभन्दा घनिष्ठ जीवनशैली अपनाउन सकिने, परिश्रम, लगन, धैर्य र सहिष्णुताको महत्व बुझ्न पाइने, दुनियाँमा दुर्लभ हुन लागेको सहअस्तित्वको भावना जागृत हुने अवसरका रूपमा किसानी जीवनशैली अपनाएकाले म टिक्न सकेको हुँ सायद,’ उनी भन्छन् ।
लेखन अब सहायक
माधव ढुंगेल लामो समय अध्यापन र संगठनात्मक गतिविधिमा सक्रिय थिए । बाहिरबाट हेर्दा उनको जीवन ठिकठाक देखिन्थ्यो । कलेज पढाउने, विभिन्न संघसंस्थासँग आबद्ध हुने र सामाजिक, राजनीतिक गतिविधिमा सहभागी हुने उनको दैनिकी थियो । तर, उनी आफैँ भने आफूले गरिरहेको कामको उद्देश्य र त्यसले समाजमा पार्ने प्रभावबारे प्रश्न गर्न थालेका थिए । उनका लागि राजनीति भनेको समाज परिवर्तन गर्ने माध्यम थियो । तर, परिवर्तनको लक्ष्य के हो ? त्यहाँ पुग्ने बाटो कुन हो ? र, आफूले अपनाएको तरिकाले वास्तवमै परिवर्तन सम्भव छ कि छैन भन्ने प्रश्नले उनलाई पछ्याइरहेको थियो ।
कृषि रोज्नुको एउटा कारण यही खोजी थियो । कृषकहरू खेती छाडिरहेका थिए, कृषि पेसामा संलग्न मानिसको जीवन कठिन थियो र कृषिसँग जोडिएका संकटबारे निरन्तर समाचार आइरहेका थिए । यस्तो अवस्थामा कृषि रोज्नु सजिलो निर्णय थिएन । उनलाई पनि अनिश्चितता र असफलताको डर थियो । तर, वैकल्पिक विचार, दर्शन र मानव सभ्यताका संकटबारे अध्ययन गर्दै जाँदा उनले समाजलाई सामान्य रूपमा देखिने समस्याबाट मात्र बुझ्न नसकिने महसुस गरे । आफूले सही ठानेका विचारसमेत कति आफ्नै अनुभवबाट बनेका हुन् र कति अरूबाट ग्रहण गरिएका हुन् भन्ने प्रश्नले उनलाई आत्मसमीक्षातिर डोर्यायो । ‘म परिवर्तन गर्न सक्दिनँ, बरु म आफैँ परिवर्तन हुन्छु’ भन्ने निष्कर्षमा पुगेपछि उनले कृषि रोजेका थिए ।
परिवारका लागि भने उनको निर्णय सहज थिएन । खेतीकिसानीबाटै जीवन चलाएका उनका आमाबुबाले छोराछोरीलाई दुःखबाट बाहिर निकाल्न पढाएका थिए । पढेर सामाजिक पहुँच र सम्पर्क बनाएको छोराले अब कृषि पेसामा फर्कनु उनीहरूको अपेक्षाभन्दा विपरीत थियो । श्रीमतीको जागिर, आमाबुबाको हेरचाह र छोराछोरीको शिक्षाका कारण सहरमै बस्नु व्यावहारिक देखिन्थ्यो । ढुंगेलले आफ्नो निर्णयमा पारिवारिक असहमति र व्यक्तिगत अनिश्चितता दुवै सामना गर्नुपर्यो । तैपनि, उनी कृषितिर अघि बढे ।
अहिले ढुंगेलसँग १० कट्ठा जमिन छ । त्यहाँ उनले बागवानी र प्राकृतिक खेतीमा आधारित मिश्रित प्रणाली विकास गरिरहेका छन् । एउटै जमिनमा विभिन्न तहका रुखबिरुवा, फलफूल, कुखुरा र बाख्रालाई समेटेर प्रकृतिको पारिस्थितिक संरचनाबाट सिक्ने प्रयास उनको खेतीको विशेषता हो । जंगलमा एउटा रुखमुनि अर्को बिरुवा उम्रिएजस्तै खेतबारीमा पनि विभिन्न प्रजाति र तहलाई सँगसँगै हुर्काउन सकिन्छ भन्ने अवधारणामा उनी काम गरिरहेका छन् । उनको उद्देश्य प्रकृतिको विविधतालाई नष्ट गरेर उत्पादन बढाउनु होइन, विविधताभित्रै उत्पादन र जीवन निर्वाहका सम्भावना खोज्नु हो । आर्थिक हिसाबले भने यो खेतीबाट ठुलो आम्दानी भइरहेको छैन । उनी त्यसलाई लुकाउँदैनन् । तर, खेतीमा लागेपछि लेखनप्रतिको प्राथमिकता फेरिएको छ । ‘अहिले लेखन पनि महत्वपूर्ण हो भन्ने नै हरायो । किनभने, अहिले मलाई लेख्नु पनि कुनै काम हो भन्ने लाग्न छोड्यो,’ उनी भन्छन्, ‘म अहिले जहाँबाट आइरहेको छु, त्यहाँबाट हेर्दा लेख्ने काम प्राथमिकता होइन, बनाउने कुरा प्राथमिक कुरा हो ।’
पर्यटकलाई गाउँले बनाएर फर्काउँदै
थातथलो (नवलपरासी)को कृषि कर्ममा रमाइरहेका अर्का पात्र हुन्, कार्टुनिस्ट तथा पत्रकार राजेश केसी (फलानो) । उनले जीवनको ५० वर्ष काठमाडौंमै बिताए । ‘फलानो’ ब्रान्डलाई चर्चित बनाएका उनले काठमाडौंमा रेस्टुरेन्टसमेत चलाए । छ वर्षअगाडिसम्म व्यापार, कामको सिलसिलामा काठमाडौंमै व्यस्त थिए । कोरोनाकालमै उनले एक वर्ष गाउँमा बिताए ।
त्यतिवेला उनले गाउँमा सम्भावना देखे । असाध्यै मिहिनेती तर प्रतिफल नपाएको किसान गाउँ देखे । तर, गाउँमा प्रचुर सम्भावना देखे । त्यसपछि उनी थातथलो फर्किए । ‘गाउँमा पर्यटनको सम्भावना, मलिलो माटो, मिहिनेती किसान थिए । त्यसैले, कृषि र पर्यटन दुवैमा सम्भावना देखेर गाउँमै फर्केर काम गर्न प्रेरित भएँ । त्यसैले, गाउँलाई नै केही गरौँ भनेर फर्किएको हुँ,’ उनी भन्छन्, ‘मुख्य कुरा त गाउँमै रमाउनु मेरो इच्छा पनि हो । गाउँमा बस्न आनन्द लाग्छ । सबै छिमेकी आफन्तजस्ता छन् ।
भित्री मधेशको ठाउँ भएकाले हावापानी राम्रो छ ।’ उनको गाउँमा पनि इन्टरनेटको सुविधा पुगेको छ । यसले गर्दा उनको काटुर्न बनाउने कलालाई भूगोलले रोकेन । राजनीतिक कार्टुनमा केन्द्रित हुने उनले कहिलेकाहीँ आफ्नो भूगोल, त्यहाँको समाज र मानिसलाई जोड्ने प्रयत्न गर्छन् । उनको योजनामा खेतीपाती, वृक्षरोपण, प्रकृति संरक्षण र पर्यटकलाई ग्रामीण जीवनसँग परिचित गराउने अवसरलाई एकै ठाउँमा जोड्ने प्रयास देखिन्छ । यसले स्थानीय उत्पादनलाई बजारसँग जोड्न, गाउँको पहिचान बढाउन र ग्रामीण अर्थतन्त्रमा नयाँ सम्भावना सिर्जना गर्न मद्दत पुग्न थालेको छ । अहिले उनीहरू सामूहिक खेती गर्न थालेका छन् । आफ्नै बलबुतामा काम गरिरहेका छन् । गत वर्षदेखि गाउँमा पर्यटकको समूह आउन थालेका छन् । ‘गाउँमा होटेल छैन । त्यसैले, आएका पर्यटकलाई आफैँ पकाएर खुवाउँछौँ । आएका पर्यटकले गाउँलेसँग धान रोप्छन्, आलु गोड्छन्, मिलेर पकाउँछन्,’ उनी भन्छन्, ‘आउँदा पर्यटक भएर आउँछन् । फर्कंदा गाउँले भएर फर्कन्छन् ।’